
काठमाडौं, २९ कात्तिक । सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तीन अर्ब बराबरका दुई बचत पत्र बिक्री खुला गरेको छ।
कार्यालयले रु २ अर्ब ५० करोड बराबरको ‘नागरिक बचत पत्र–२०८७’ र रु ५० करोड बराबरको ‘वैदेशिक रोजगार बचत पत्र–२०८७’ निष्कासन गर्न लागेको हो।
पाँच वर्ष अवधिका यी बचत पत्र खरिदका लागि आगामी मङ्सिर २५ गतेसम्म आवेदन दिन सकिनेछ भने मङ्सिर २८ गते निष्कासन हुनेछ। नागरिक बचत पत्रमा ६.५ प्रतिशत र वैदेशिक रोजगार बचत पत्रमा ७.५ प्रतिशत वार्षिक ब्याजदर उपलब्ध हुनेछ। ब्याज रकम हरेक छ महिनामा खरिदकर्ताको बैंक खातामा भुक्तानी हुनेछ।
नागरिक बचत पत्र नेपाली नागरिक तथा गैर आवासीय नेपालीले खरिद गर्न सक्नेछन्। वैदेशिक रोजगार बचत पत्र भने मुलुकबाहिर रोजगारीमा संलग्न वा रोजगारीबाट फर्केको छ महिना पुगेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीले आफू वा परिवारको नाममा खरिद गर्न सक्ने व्यवस्था छ। आवेदन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको डोम्स प्रणाली र इन्भेस्टर पोर्टलमार्फत दिन सकिनेछ।
अघिल्ला वर्षमा नागरिक बचत पत्र शतप्रतिशत बिक्री भए पनि वैदेशिक रोजगार बचत पत्रमा लगानीकर्ताको चासो न्यून देखिएको कार्यालयका उपसचिव प्रकाश पुडासैनीले बताए। उनका अनुसार बचत पत्रबारे पर्याप्त जानकारी नहुँदा लगानीकर्ताले अपेक्षित मात्रामा खरिद नगरेका हुन्।
पुडासैनीले पछिल्लो चार दिनमै नागरिक बचत पत्रमा रु ८० करोड बराबरको आवेदन परिसकेको जानकारी दिँदै यस वर्ष तोकिएको समयअघि नै बिक्री सकिने अनुमान गरे। उनका अनुसार बचत पत्र ‘स्टक’का रूपमा जारी हुने भएकाले पहिले आवेदन दिनेले पहिले खरिद गर्ने सुविधा पाउनेछन्।
बचत पत्रलाई सुरक्षित र आकर्षक लगानी विकल्पका रूपमा प्रस्तुत गर्दै पुडासैनीले यसमा सरकारले मूलधनको सुनिश्चितता गरेको बताए। बचत पत्रलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने र दोस्रो बजारमा सहजै कारोबार गर्न सकिने व्यवस्था रहेको उनले उल्लेख गरे।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



