झापा, ७ मंसीर । झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुबारीस्थित भित्रि सडक खण्डमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
भद्रपुरबाट इटाभट्टा तर्फ जाँदै गरेको प्र.१–०१–०१३ प. ३३३६ नम्बरको मोटरसाइकलले सडक किनारमा रोकिराखिएको प्र. १–०१–००१ त. ९९७७ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका ३८ वर्षीय बिनोद राउत र पछाडि सवार २१ वर्षीय निश्चल भुजेल दुबै जना गम्भीर घाइते भएका थिए ।
उनीहरूलाई प्रारम्भिक उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको थियो । त्यहाँ उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा रेफर गरिएकोमा साँझ ७ः४५ बजे उपचारको क्रममा चालक राउतको मृत्यु भएको अस्पतालले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


