दमक, १० मंसीर । आज दिउँसो विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक नगरपालिका–१ रवी स्टेन छेउमा रहेको आरक्यू होटलमा छापा मार्दा दुई जना व्यक्तिलाई लागु औषधसहित नियन्त्रणमा लिएको छ।
प्रहरीले होटलको तेस्रो तल्लाको ४ नं. कोठामा बसिरहेका झापा दमक–७ स्थायी घर भई हाल दमक–१ सिर्पाली चौक बस्ने २५ वर्षीय रामकुमार गौतम र मोरङ उर्लावारी–८ दुर्गापुरी बस्ने ३० वर्षीया ललिता धिमाललाई पक्राउ गरेको हो । लागुऔषधको कारोबार भइरहेको छ भन्ने प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
तलासीका क्रममा खैरो हेरोइनजस्तो देखिने लिसाईलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । डिजिटल तराजुमा नापतौल गर्दा प्लास्टिकसहित १३ ग्राम ६४० मिलिग्राम र प्लास्टिक बाहेक ८ ग्राम पदार्थ बरामद भएको छ । साथै गौतमको साथबाट नेपाली रुपैयाँ २८ हजार पनि फेला परेको छ । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


