बिर्तामोड, १५ मंसीर । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषलाई संघका उद्योग उपाध्यक्ष विशाल थापाले २१ हजार रुपैयाँ सहयोग गरेका छन् । जन्मदिनको अवसर पारेर उनले संघका अध्यक्ष राजु न्यौपानेलाई सो रकम प्रदान गरेका हुन् ।
साँझ बिर्तामोडस्थित संघको कार्यालयमा आयोजित कार्यक्रममा उपाध्यक्ष थापाले राहत कोषमा हातेमालो बढाउने सबैप्रति धन्यवाद व्यक्त गर्दै व्यवसायीलाई आपत–विपतमा तत्काल सहयोग पुग्ने उद्देश्यले कोष विस्तार अत्यावश्यक भएको बताए । “हाम्रो लक्ष्य एक करोड रुपैयाँ पुर्याउने हो,” थापाले भने, “थोरै भए पनि कोष वृद्धिमा योगदान दिन पाउनुमा खुशी छु ।”

उपाध्यक्ष थापा आफ्नी श्रीमती समृद्धिसहित कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघले उनलाई कदरपत्रद्वारा सम्मान गरेको छ । समारोह संघका महासचिव कुशल खतिवडाले सञ्चालन गरेका थिए । कार्यक्रममा संघका पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो ।



