
झापा, १८ मंसिर । चालू आर्थिक वर्ष २०८२–८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकडभिट्टाबाट ६ अर्ब २ करोड रुपैयाँ भन्दा धेरैको पेट्रोलियम पदार्थ आयात भएको छ । ६ अर्ब दुई करोड ७६ लाख ४५ हजार रुपैयाँ बराबरको पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात गरिएको हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१–८२ को यही अवधिको तुलनामा ११ करोड ९२ लाख ५४ हजार रुपैयाँ अर्थात् दुई दशमलव १ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व दुई दशमलव ९० प्रतिशत अर्थात् ८ करोड ४१ लाख २२ हजार रुपैयाँले बढेको सूचना अधिकारी हुमागाईंले जानकारी दिनुभयो ।
चालू आर्थिक वर्षको चार महिनामा पेट्रोलियम पदार्थ आयातबाट दुई अर्ब ९६ करोड ८१ लाख ४५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो अवधिमा तीन अर्ब १० करोड ५४ लाख रुपैयाँ पर्ने ३५ हजार १५६ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी १ अर्ब ७४ करोड ६८ लाख मूल्य पर्ने १८ हजार ४०८ किलोलिटर डिजेल आयात भएको छ ।
यस्तै, चार महिनाको अवधिमा ८२ करोड ६३ लाख रुपैयाँ पर्ने आठ हजार ५ सय ५७ मेट्रिक टन एलपी ग्यास, २६ करोड ३३ लाख मूल्य पर्ने दुई हजार ९ सय ८ किलोलिटर एटिएफ र चार करोड ६१ लाख मूल्य पर्ने ५ सय ८ किलोलिटर मट्टितेल आयात भएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



