
झापा, २० मंसिर । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका विज्ञ सदस्य डा. रमेश चौलागाईंले मुलुकको सहकारी क्षेत्र समस्याग्रस्त रहेको तर सुधारको विकल्प नभएको बताउनु भएको छ । शुक्रबार झापाको बिर्तामोडमा सम्पन्न बचत ऋणको कारोबार गर्ने झापाका ठूला सहकारी संस्थाका प्रतिनिधिहरुसँगको अन्तरसम्वादमा उहाँले मुलुकमा कति सहकारी छन्, त्यसको आधिकारिक तथ्यांकसमेत नभएको टिठ लाग्दो तथ्य उजागर गर्नुभयो ।
” सहकारी क्षेत्र समस्या ग्रस्त छ, सहकारीको आधिकारिक तथ्यांक नै छैन” उहाँले भन्नुभएको, ” समस्या कस्तो होला यसले नै पुष्टि हुन्छ, पुरानो तथ्यांकको भरमा कार्यसम्पादन गर्नु पर्ने बाध्यता छ, तर समग्र सहकारी क्षेत्रको सुधार नगरी सुखै छैन ।” सहकारीको नयाँ तथ्यांक संकलन र वास्तविक अवस्थाको विश्लेषणका लागि प्राधिकरणले कारोबार इजाजतका लागि देशभरका सहकारीलाई निर्देश गरेको स्मरण गराउनुभयो । “मुलुकका एक प्रतिसत सहकारी मात्रै समस्या ग्रस्त छन् भन्ने कुरा दुष्प्रचार मात्रै हो ” सदस्य चौलागाईंले भन्नुभयो, ” संसदीय समितिको प्रतिवेदन अध्ययन गर्दा पनि एक प्रतिसतको प्रचार गलत हो भन्ने तथ्य उजागर हुन्छ ।”
विज्ञ सदस्यको कार्यभार सम्हालेपछि पहिलो पटक झापा आउनु भएको चौलागाईंले प्राविधिकरणले जारी गरेको सूचना अनुसार इजाजतका लागि सूचिकृत हुन झापाका सहकारीलाई निर्देश गर्नुभयो । कति सहकारी समस्या ग्रस्त छन् भन्ने तथ्यांकका लागि पनि प्राधिकरणमा इजाजत सूचीकारण हुनुको विकल्प नभएको उहाँको तर्कछ । ” सहकारी क्षेत्रमा भएको बहुनियमनकारी प्रावधान हटाउन जरुरी छ, त्यसका लागि प्राधिकरणले अगुवाइ गर्छ ” चौलागाईंले भन्नुभयो, ” अनुगमन, नियमन प्राधिकरणले गर्छ, प्रबर्द्धन अरुले गर्ने हो ।”
नियमन भनेकै नियन्त्रण भएको मत राख्नु भएको उहाँले अनुगमन , नियमनसँग नतर्सन सहकारी सञ्चालकलाई आग्रह गर्नुभयो । ” नियमनको मात्रा निर्धारण हुन्छ, तपाईंहरु ढुक्क हुनुस्,विगतको शैलीमा अनुगमन, निरीक्षण पनि हुँदैन” अनलाइन सुपरीवेक्षण, निरीक्षण पनि माध्यम हुन सक्छ, परम्परागत अनुगमन, निरीक्षण हुँदैन ।” सहकारी विभाग, प्रदेश रजिस्ट्रार कार्यालय र पालिकाको भूमिका पनि रहने बताउनुभएको उहाँले प्राधिकरण अन्तिम शक्ति नभएको स्पष्ट पार्नुभयो ।
सदस्य चौलागाईंले आइक्यानसँगको सहकार्यमा सहकारीको वास्तविक अवस्था पत्ता लाउने काम सुरु भएको जनाउनुभयो । उहाँले सम्पत्ति शुद्धीकरण थप पेचिलो रहेको मत राख्नुभयो । सदस्य चौलागाईंले संसदीय समितिले ४० वटा सहकारीको अध्ययन गर्दा जुन वास्तविकता बाहिर आएको छ, त्यसले नै मुलुकको सहकारीको अवस्था स्पष्ट परेको तर्क गर्नुभयो । मुख्यकुरा सुरक्षा भएकोले सहकारीमा राष्ट्र बैंकको गन्ध र प्रभाव पर्छ कि भन्ने आशंकाबाट मुक्त हुन सहकारी सञ्चालकलाई आग्रह गर्नुभयो ।
जिल्लामा पहिलोपटक सम्पन्न कार्यक्रममा जिल्ला बचत संघका झापा अध्यक्ष तुलाराम न्यौपाने, वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रकाश ओली, सचिव यामकुमार चुडाल झापा जिल्ला सहकारी संघका अध्यक्ष प्रेमप्रसाद कोइलाले अन्तरसम्वाद र ठूलो कारोबार गर्ने झापाका सहकारीका बारेमा जानकारी गराउनु भएको थियोे । राष्ट्रिय सहकारी बैकका अध्यक्ष महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्य र जिल्ला बचत संघको ब्यानरमा भएको कार्यक्रममा झापाका ठूला सहकारीका अध्यक्ष र व्यवस्थापकले सवालजवाफ गर्नुभएको थियोे ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



