
सन्तोष शर्मा
झापा, २२ मङ्सिर । झापामा यो वर्ष साढे तीन लाख मेट्रिक टन बर्खे धान उत्पादन भएको छ ।
जिल्लामा ७२ हजार सात सय ४२.६५ हेक्टरमा तीन लाख ५४ हजार तीन सय १५.९२ मेट्रिक टन बर्खे धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यो वर्ष धान खेतीको क्षेत्रफलसँगै उत्पादन घटेको छ । तर, उत्पादकत्व भने केही बढेको छ ।
गत वर्ष ७५ हजार चार सय ५९.१८ हेक्टरमा तीन लाख ८२ हजार आठ सय ११.९७ मेट्रिक टन धान उत्पादन भएको थियो । धानको उत्पादकत्व ५.०७३ रहेको थियो । अनियमित वर्षाका कारण धान खेतीको क्षेत्रफल गत वर्षको तुलनामा यो वर्ष दुई हजार सात सय १६.५३ हेक्टर घटेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख विष्टले बताउनुभयो । तर, उत्पादकत्व भने ५.१९५ रहेको छ ।
गत असोज र कात्तिममा भएको बेमौसमी वर्षाका कारण जिल्लामा २३ हजार पाँच सय ६४.३३ मेट्रिक टन धानमा क्षति पुगेको कार्यालयले जनाएको छ । जसबाट अनुमानित रू ७८ करोड ११ लाख ५६ हजार बराबरको क्षति भएको छ ।
किसानले समर्थन मूल्य पाएनन्
बेमौसमी वर्षाका कारण खेतीमा ठूलो क्षति व्यहोरेका किसान यतिबेला मूल्य नपाएर समस्यामा छन् ।
सरकारले गत साउनमा बर्खे धानको न्यूनतम समर्थन मूल्य बढाएको थियो । मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा तोकेको छ ।
केही वर्ष अघिसम्म किसानले धान भित्र्याउन शुरू गर्दा पनि सरकारले न्यूनतम समर्थन मूल्य नतोक्दा किसान ठगिने समस्या थियो । तर, पछिल्ला केही वर्षदेखि सरकारले चाँडै मूल्य तोक्न थालेको छ ।
सरकारले बेलैमा धानको समर्थन मूल्य तोके पनि किसानले मूल्य नपाउने समस्या ज्यूँकात्यूँ छ । झापामा हाल किसानले मध्यम धान प्रतिक्विन्टल ३ हजार र मोटा धान २ हजार ७ सय ५० मा बिक्री गरिरहेका छन् । कृषि ज्ञान केन्द्र झापाका प्रमुख विष्ट भन्नुहुन्छ, “किसानले सरकारले तोकेको मूल्य पाउन सकेका छैनन्, किसानको गुनासो आइरहेको छ ।”
भद्रपुरका किसान महरसिंह राजवंशीले अहिले प्रतिमन (४० केजी) धान १२ सय रुपैयाँ किनबेच बताउनुभयो । “धानको भाउ नै छैन”, उहाँले भन्नुभयो, “१२ सयमा कसरी बेच्नु ?”
‘धानको भाउ बढ्छ’
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ झापाका प्रमुख रविन्द्र सुवेदी हाल किसानले धानको समर्थन मूल्य नपाएको बताउनुहुन्छ ।
“म बुझिरहेको छु अहिले प्रतिक्विन्टल ३१ सयमा मध्यम बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो, “अब भाउ बढ्छ ।” शुरु–शुरुमा धानमा चिस्यान बढी हुने भएकाले मूल्य कम भएको हुन सक्ने उहाँको भनाइ छ । हाल धानको गुणस्तर राम्रो भएकाले मूल्य बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
धान खरीदका लागि ३ सहकारी सूचीकृत
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ झापाले धान खरिदका लागि सहकारी संस्थालाई सूचीकृत हुन आह्वान गरेको थियो । जिल्लामा कृषि सहकारी, कृषि समूह धेरै भए पनि तीन वटा मात्र सहकारी सूचीकृत भएका छन् ।
सरकारले तोकेको मूल्यमा किसानको धान सहकारीले खरीद गरेर किसानको खातामा जम्मा गरेमा व्यवस्थापन खर्च वापत प्रतिक्विन्टल रू एक सय १२ अनुदान दिइने एकाइ झापाका प्रमुख रविन्द्र सुवेदीले बताउनुभयो ।
अधिकांश रञ्जित र सर्ना धान खेती
हाल बजारमा चामलमा ‘जिरा मसिनो’ ब्राण्ड जस्तै भए पनि किसानले नेपालमै उत्पादित त्यस्तो प्रकारको धान खेती गर्न अनिच्छुक देखिएको प्रमुख सुवेदी बताउनुहुन्छ ।
नेपालमै उत्पादित बहुगुणी–२, तरहरा–१, सानो मन्सुली सव–१ लगायतका धानहरु ‘जिरा मसिनो’ ब्राण्डमै जाने उहाँको भनाइ छ । झापा, मोरङ र सुनसरीमा अधिकांश किसानले रञ्जित र सर्ना धान खेती गर्ने गरेको उहाँले बताउनुभयो ।
“ब्राण्ड चलेको धानको खेती गर्न प्रोत्साहन गर्ने कोसिस गरिहेका छौं”, उहाँले भन्नुभयो, “तर, किसानहरु रञ्जित र सर्ना धानप्रति धेरै आकर्षित छन् ।” उत्पादनका हिसाबले रञ्जित र सर्ना धानभन्दा बहुगुणी–२, तरहरा–१, सानो मन्सुली सव–१ धानमा उत्पादनमा खासै फरक नपर्ने उहाँको भनाइ छ ।

