
झापा, २२ मंसिर । झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागुऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर नगरपालिका–९ का सायर घिमिरे, सुशिल घिमिरे र पूर्णिमा पराजुलीलाई ८४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यसैगरी, इलाका प्रहरी कार्यालय दमकले दमक–५ का निरज मुखियालाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागूऔषध ट्रामाडोल २७ क्याप्सुल र डाईक्लोमाइन २६ ट्याबलेट सहित उनकै घरबाट पक्राउ गरेको छ ।
चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे–१ का देव लिम्बुलाई १६० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय रानी (सिमा)ले धरान–१३ का गंगाराज राईलाई लागुऔषध २३ एम्पुल सहित नियन्त्रणमा लिएको छ ।
सोही दिन सुनसरीको बराहक्षेत्र नगरपालिका–११ बाट प्रहरी चौकी मधुवनले १९ किलोग्राम गाँजा सहित कोशी गाउँपालिका–६ का रामनाथ यादव र भारत बिहारका भुषण कुमार यादवलाई प्रदेश १–०५–००१ प ३४९४ नम्बरको मोटरसाइकल सहित नियन्त्रणम लिएको हो भने इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–४ बाट धनकुटा साँगुरिगढी गाउँपालिका–१० का विरेन्द्र राईलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।


