
सन्तोष शर्मा
झापा, २२ मंसिर । झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआईभी संक्रमितको मृत्यु भएको छ ।
जिल्लामा पछिल्लो तीन वर्षयता एचआईभी संक्रमितको मृत्यु दर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/०८० मा १७ जना, २०८०/०८१ मा २३ जना र आव २०८१/८२ मा ३५ जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।
“उपचारमा आउने बिरामीहरूमा औषधी नखाने दर शून्य झरेको छ”, उहाँले भन्नुभयो, “तर, मृत्यु दर भने बढेको छ ।”
चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा २२ जना नयाँ एचआईभी संक्रमित फेला परेका छन् । नयाँ एचआईभी संक्रमितमध्ये चार जनाले दमक अस्पताल दमक र १८ जनाले मेची प्रादेशिक अस्पतालबाट नियमित एआरटी औषधि सेवन गरिरहेका छन् ।
जिल्लामा कूल एचआइभी संक्रमितमध्ये १८ वर्षमुनिका ३० जना बालबालिका रहेको फोकल पर्सन दासले बताउनुभयो । स्वास्थ्य कार्यालय झापा र लवकुश आश्रमद्वारा १८ वर्ष मुनिका संक्रमित बालबालिकाका लागि प्रतिमहिना रू एक÷एक हजारको दरले सहयोग प्राप्त भइरहेको छ । नयाँ सचेतना समूह भद्रपुरमा रहेकोमा ३० जना सबै बालबालिकाले एआरटी सेवा लिँदै आइरहेका छन् ।
झापामा आ.व. २०७९/८० मा नयाँ ७० जना र पुरानो गरी ६६३ जना, आ.व. २०८०/८१ मा नयाँ ७४ जना र पुरानो गरी ७५० जना र आ.व. २०८१/८२ मा नयाँ ५६ जना र पुरानो ७८४ जना एचआईभी संक्रमित उपचाररत रहेको कार्यालयको तथ्यांक छ ।


