
झापा, २३ मंसिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि मौसम महाशाखाले शनिबार साँझदेखि सोमबार साँझसम्म नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको उल्लेख गरेको थियो । तर महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनमा भनिएको छ, ‘हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।’
बुलेटिनअनुसार अहिले बिहान गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । कोसी प्रदेश, मधेस प्रदेशको तराई क्षेत्र र सुदूरपश्चिम प्रदेशका उपत्यकाका एक–दुई स्थानमा कुहिरो तथा बाँकी तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ ।
दिउँसो कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति भने देशभर मौसम मुख्यतया सफा रहने मौसम महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।


