
झापा, २४ मङ्सिर । झापाको बिर्तामोडमा आज भ्रष्टाचारविरुद्ध समाचार लेख्ने मंगलबार जना पत्रकारलाई पुरस्कृत गरिएको छ ।
नेपाल पत्रकार महासंघ झापाद्वारा वितरण गर्ने गरी हेम–सरिता फाउण्डेसनले स्थापना गरेको ‘टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार’बाट झापाका तीन जना पत्रकार पुरस्कृत भएका हुन् ।
भ्रष्टाचारविरुद्धको दिवसको अवसरमा बिर्तामोडमा आयोजित पुरस्कार वितरण समारोहमा टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकारद्वय सुरेन्द्र भण्डारी र इन्दु पूर्वेली पुरस्कृत हुनुभएको छ । त्यस्तै, टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार–२०८२ बाट पत्रकार चिरञ्जीवी घिमिरे पुरस्कृत हुनुभएको हो । पत्रकार भण्डारी र पुर्वेलीले जनही रू २५ हजार २२५ र पत्रकार घिमिरेले रू ५० हजार पाँच ५५५ पाएका छन् ।
पुरस्कृत व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्का, पुरस्कार स्थापनाकर्ताका तर्फबाट यज्ञप्रसाद पाठक लगायतले संयुक्त रुपमा प्रमाणपत्र र नगद रुपमा हस्तान्तरण गर्नुभएको थियो ।
प्रमुख अतिथि अध्यक्ष आचार्यले पत्रकार र सञ्चार क्षेत्रको समस्या समाधान गर्न प्रेस काउन्सिलले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले न्याय क्षेत्रबाट पत्रकारिताको क्षेत्रमा आफ्नो प्रवेश नौलो भएको बताउनुहुँदै सबै पक्षलाई समेटेर काम गर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा पत्रकार महासंघका कोशी प्रदेश अध्यक्ष भरत खड्काले कोशी प्रदेशभर रहेका करिब १३ सय पत्रकारको बिमा गर्न लागिएको र पत्रकारको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमसमेत आयोजना गरिने बताउनुभयो ।
कार्यक्रममा लैंगिक हिंसाविरुद्धको लेखनवृत्तिवापत पत्रकारद्वय ज्योस्ना श्रेष्ठ र रञ्जिता खड्कालाई जनही नगद रू पाँच हजार प्रदान गरिएको थियो ।
प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकार आचारसंहिताबारे प्रशिक्षण समेत दिनुभएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य र पुरस्कृत व्यक्तित्वको तर्फबाट चिरञ्जीवी घिमिरेले मन्तव्य राख्नुभएको थियो ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने गर्नुभएको थियो भने सञ्चालन सचिव राजु पाठकले गर्नुभएको थियो ।
भ्रष्टाचार अन्त्य र सुशासन प्रवद्र्धनको क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले हेम–सरिता फाउण्डेसनले रू पाँच लाख राशीको कोष स्थापना गरेको छ । सोही कोषको प्राप्त हुने ब्याजबाट पत्रकार महासंघ झापाले बर्सेनि एक पुरस्कृत गरिँदै आएको छ ।


