
झापा, २५ मंसिर । झापा जिल्लाको कन्काई नगरपालिका–८, खाडी बस्तीस्थित भित्री सडक खण्डमा मंसिर २२ गते साँझ तीन सवारी साधन आपसमा ठोक्किँदा घाइते भएका एक युवकको मृत्यु भएको छ ।
दुर्घटनामा मे ९ प ४६९१ नं.को मोटरसाइकल, प्र १–०१–०१२ प ८५६५ नं. को मोटरसाइकल र प्र १–०१–००१ ह ९७६० नं.को अटो एकआपसमा ठोक्किएका थिए ।
सो क्रममा मोटरसाइकल (४६९१ नं.) मा पछाडि सवार बाह्रदशी गाउँपालिका–३ निवासी २४ वर्षीय विकास राजवंशी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पुर्याइएको थियो । उपचारका क्रममा मंसिर २४ गते बुधबार राजबंशीको मृत्यु भएको अस्पतालले जनाएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको थियो । कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । दुर्घटनामा संलग्न तीनै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


