
झापा, २८ मंसिर । निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आज विभिन्न कार्यक्रमका साथ सङ्घीय संसद् सेवा दिवस मनाइँदैछ।
विसं २०५८ मा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो। सङ्घीय संसद् सचिवालयले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ। नेपालको संविधानको धारा २०७ मा सङ्घीय संसद्को कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा तत्सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुनबमोजिम हुने व्यवस्था छ।
निजामती सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद् सेवा विशिष्ट, स्वायत्त र व्यावसायिक सेवा हो । संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउन छुट्टै ऐनद्वारा संसद् सेवाको गठन गरिएको स्मरणमा हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाउने गरिएको छ।
राज्यको सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाका रूपमा रहेको सङ्घीय संसद्लाई प्रशासनिक र प्राविधिक सहयोग पुर्याउँदै आएको संसदीय सेवाको भूमिका संविधानको सफल कार्यान्वयन र कानुन निर्माण प्रक्रियामा अत्यन्तै महत्त्वपूर्ण रहेको छ।
संसद्लाई आवश्यक पर्ने जनशक्ति, सूचना, प्रविधि, भौतिक सामग्रीलगायत उपलब्ध गराउनु सङ्घीय संसद् सचिवालयको कार्य रहँदै आएको छ। संसद् सेवाको विशिष्ट कार्य प्रणालीले विधायिकी कार्य र संसदीय कामकारबाहीमा अविच्छिन्न सहयोग पुगेको छ।
यसैबीच संसद् सेवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न आह्वान गरेका छन्।
उनले सङ्घीय संसद् सचिवालयमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीमा सुख, शान्ति र प्रगतिको शुभकामना व्यक्त गर्दै सम्पूर्ण कर्मचारीलाई आफ्नो कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न अनुरोध गरेका छन्।
राज्यको सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाका रूपमा रहेको सङ्घीय संसद्लाई प्रशासनिक र प्राविधिक सहयोग पुर्याउँदै आएको संसदीय सेवाको भूमिका संविधानको सफल कार्यान्वयन र कानुन निर्माण प्रक्रियामा अत्यन्त महत्त्वपूर्ण रहेको सभामुख घिमिरेको भनाइ छ।
‘संसद् सेवा लोकतन्त्रको मन्दिरको लिइने संसद्लाई सुचारु राख्ने एक पवित्र जिम्मेवारी पनि हो, राजनीतिक रूपमा निष्पक्ष, व्यावसायिक रूपमा दक्ष र प्रक्रियागत रूपमा पारदर्शी कर्मचारी संयन्त्र नै जीवन्त संसद्को आधार हो, संसद्को स्वायत्तता कायम राख्दै यस सेवालाई समयसापेक्ष, प्रविधिमैत्री र विशिष्टीकृत बनाउन हामी सबैको सामूहिक प्रयास रहनेछ भन्ने विश्वासका साथ पुनः सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ सन्देशमा उनले भनेका छन्।


