
हल्दिबारी, २ पुस । झापाको हल्दिबारी गाउँपालिका वडा नं. १ र ५ जोड्ने भुल्का मार्गको आज उद्घाटन गरिएको छ ।
यहाँ आज आयोजित एक विशेष समारोहबीच राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले भुल्का मार्गको उद्घाटन गर्नुभएको हो ।
हल्दिबारी वडा नम्बर १ ओम चोकदेखि वडा नम्बर ५ को धनुषा आधारभूत विद्यालयसम्म दुई हजार ३३० मिटर लामो र साढे पाँच मिटर चौडा उक्त सडकलाई ‘भुल्का मार्ग’ नामकरणसमेत गरिएको छ ।
भ्रष्टाचारमुक्त समाज निर्माणमा सबै तहका जनप्रतिनिधि प्रतिबद्ध हुनुपर्ने उल्लेख गर्नुहुँदै अध्यक्ष लिङ्देनले आम नागरिकका स–साना समस्या समेत समयमै समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
संघीय सरकार र हल्दिबारी गाउँपालिकाको संयुक्त २ करोड ६५ लाख ४३ हजार ३८९ रुपैयाँको लागतमा पार्वती–अम्बिका ग्लोबल भिमेश्वर जेभीले सडक निर्माण सम्पन्न गरेको हो । सडक कालोपत्रेसँगै गोलधाप बजारदेखि वडा कार्यालयसम्म पुग्ने ३१० मिटर लम्बाइ र ६ मिटर चौडाइको सडकमा पेभर्स ब्लक बिछ्याउने काम समेत भएको छ ।
गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, हल्दिबारी वडा नम्बर १ का वडा अध्यक्ष देवीबहादुर थापा र नेपाली कांग्रेस हल्दिबारीका कोषाध्यक्ष राजेन्द्र ओली शुभकामना मन्तव्य राख्नुभएको थियो ।
एक वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी २०८१ माघ २८ गते निर्माण सम्झौता भए पनि दुई महिना अघि नै काम सम्पन्न गरेकोमा निर्माण कम्पनीका सञ्चालक हरि भट्टराईलाई सम्मान समेत गरिएको छ ।
कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले स्वागत गर्नुहुँदै औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीयबासीको बाक्लो उपस्थिति रहेको थियो ।


