
झापा, २ पुस । झापाको भद्रपुरमा दुई नाबालिकामाथि जबरजस्ती करणी भएको आरोपमा दुई युवक पक्राउ परेका छन् ।
मंसिर २७ गते १५ वर्षीया साङ्केतिक नाम ब–१ र १३ वर्षीया साङ्केतिक नाम भ–१ घरबाट बेपत्ता भएका थिए । मंसिर २९ गते जाहेरवालाले उनीहरूलाई फेला पारी सोधपुछ गर्दा मेला घुम्ने क्रममा प्रतिवादी भद्रपुर–५ का २१ वर्षीय अक्षय सापकोटा र भद्रपुर–३ का २३ वर्षीय विवेक राईसँग भेट भएको र उनीहरूले ललाइफकाइ अक्षय सापकोटाको घरमा लगेका थिए भन्ने खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गत मंसिर २८ गते दिउँसो करिब १२ः३० बजे प्रतिवादीहरूले पीडित दुई नाबालिकालाई छुट्टाछुट्टै कोठामा राखी जबरजस्ती करणी गरेको पीडितले बयान दिएका छन् । प्रतिवादी विवेक राई साङ्केतिक नाम ब–१ लाई करणी गरेको आरोपमा पुस १ गते पक्राउ परेका छन् भने प्रतिवादी अक्षय सापकोटाले साङ्केतिक नाम भ–१ लाई करणी गरेको आरोपमा आज पक्राउ गरिएको छ । पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


