
हल्दिबारी, ३ पुस । झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ४ लाई आज बालमैत्री वडा घोषणा गरिएको छ ।
कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टले हल्दिबारी–४ लाई बालमैत्री वडा घोषणा गर्नुहुँदै वडा नं. ४ का अध्यक्ष सन्तकुमार थापालाई प्रमाण–पत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति झापा र हल्दिबारी गाउँपालिकाले समेत वडा नं. ४ लाई कदर पत्र प्रदान गरेको छ । त्यस्तै वडालाई बालमैत्री बनाउन योगदान पु¥याउने विभिन्न संघ–संस्था, व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

प्रमुख अतिथि सभामुख बिष्टले बालमैत्री अभियानलाई सफल बनाउन निरन्तर काम गर्नुपर्ने बताउनुभयो । कोशी प्रदेश सरकारले हल्दिबारी–४ मा बालमैत्री अभियानका लागि केही न केही बजेट छुट्याउने सभामुख बिष्टले प्रतिबद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य छवीलाल चुडाल, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), पूर्व गाविस सचिव मुरारी पोखरेल, बाल सञ्जाल हल्दिबारीका निवर्तमान अध्यक्ष पवन गिरी, कार्यपालिका सदस्य शान्ता शिवाकोटीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने अभियानको पहिलो खुड्किलोका रुपमा वडा नम्बर ४ लाई बालमैत्री वडा घोषणा गरिएको बताउनुभयो । “क्रमशः पाँच वटै वडालाई पनि बालमैत्री घोषणा गर्छौं”, उहाँले भन्नुभयो, “बालमैत्री पालिका बनाउन हामी प्रतिबद्ध छौं ।”

हल्दीबारी–४ का वडाध्यक्ष सन्तकुमार थापाले २०८० सालदेखि बालमैत्री वडा बनाउने अभियान शुरु गरिएको बताउनुभयो । बालमैत्री वडा बनाउन ५१ सूचकहरु पूरा गरिएको बताउनुहुँदै उहाँले वडाका एक हजार दुई सय ६३ घरपरिवारका पाँच हजार आठ सय १० नागरिकहरुलाई बालमैत्री अभियानबारे सुसूचित गरिएको बताउनुभयो ।
अध्यक्ष थापाले बालमैत्री मापदण्ड पूरा गरेबापत गाउँपालिकाबाट १० लाख रुपैयाँ प्रोत्साहन रकम प्राप्त हुने र उक्त रकम बालबालिकाको शिक्षा, संरक्षण र सहभागितामूलक कार्यक्रम सञ्चालनमा खर्च गरिने बताउनुभयो ।
हल्दिबारी–४ की वडा सदस्य भगिरथा दाहालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय सृष्टि पौडेल र युनिषा न्यौपानेले गर्नुभएको थियो । विद्यार्थीहरुले विभिन्न सांस्कृति नृत्य, गीत प्रस्तुत गरेको कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि, स्थानीयबासी, विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

