
झापा, ४ पुस । वैदेशिक रोजगारीका नाममा विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौँ–३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ की ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भई हाल काठमाडौँ गोकर्णेश्वर–५ बस्ने २५ वर्षीय साइरज सुवेदी रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार अधिकारीले अल्बानिया पठाउने भन्दै रु १९ लाख, विश्वकर्माले क्यानडा पठाउने भन्दै रु १९ लाख र सुवेदीले अमेरिका पठाउने भन्दै रु ११ लाख १४ हजार ५०० लिई विदेश नपठाएर सम्पर्कविहीन भएका उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले जानकारी दिनुभयो ।



