
पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा छायांकन सुरु हुनुअघि कलाकारदेखि छायाँकारसम्मको उपस्थितिमा वर्कसप गर्ने चलन फस्टाउँदै गएको छ । फिल्म निर्माण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन आयोजना गरिने यस्ता वर्कसपले कलाकारलाई आफ्नो क्यारेक्टर गहिरो रूपमा बुझ्न र स्क्रिप्टको सूक्ष्म अध्ययन गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेको छ ।
वर्कसपको यही महत्त्वलाई बुझेर हुनसक्छ, निर्माणको तयारीमा रहेको फिल्म ‘मितज्यू’को टिमले पनि यो अभ्यासलाई आत्मसात गरेको छ । सोहीअनुसार शनिबारबाट काठमाडौंमा फिल्मका निर्देशकदेखि कलाकारहरूको उपस्थितिमा वर्कसप सुरु गरिएको छ । वर्कसपमा कलाकारहरू तेरिया मगर, पुस्कर गुरुङ, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने लगायत सहभागी छन् ।
फिल्ममा कलाकारहरूले गर्ने भूमिकालाई सहज होस् भन्ने हिसाबले वर्कसप चलाइएको निर्माता जनक घर्ती मगरले बताए । उनले भने, ‘कलाकारले आफ्नो भूमिका बुझेपछि सुटिङमा सहज हुन्छ । र, त्यसले छायाङ्कन समय र खर्च पनि कम हुने भएकाले हामीले वर्कसप थालेका हौँ ।’ उनका अनुसार आगामी माघको पहिलो साताबाट रोल्पामा फिल्मको छायांकन सुरु हुनेछ ।
अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल, शिशिर वाङ्देल, अरुण पुन मगर, उत्तम राज पाण्डे, खड्क बहादुर पुन ९खबपु० लगायतको पनि अभिनय रहनेछ । शिशिर शिशङखेले खिच्ने फिल्मको सम्पादन लोकश बज्रचार्यले गर्नेछन् । फिल्मलाई अर्को वर्षको जेठ १५ गते प्रदर्शन गर्ने तयारी गरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

