
झापा, १२ पुस । आर्थिक अभावका कारण बोनम्यारो क्यान्सर (रक्त क्यान्सर) रोगबाट पीडित बिर्तामोड–३ का युवाको उपचारमा समस्या भएको छ । झापाको बिर्तामोड–३ स्थित समावेशी टोलका १७ वर्षीय आर्यनकुमार महतोको उपचारमा आर्थिक अभाव भएको हो ।
दुई वर्षदेखि बोनम्यारो क्यानसर रोग पत्ता लागेको आर्यनको हाल भारतमा उपचार भइरहेको छ । दुई वर्षअघि काठमाडौंमा उपचार गराउँदा उनलाई क्यानसर भएको पत्ता लागेको थियो । काठमाडौंमा उपचार सम्भव नभएपछि अहिले उनको भारतको दिल्ली स्थित एम्स अस्पतालमा उपचार भइरहेको छ । तर, चिकित्सकले तत्कालै बोनम्यारो प्रत्यारोपण गर्न सुझाव दिएको बिरामीका मामा प्रमोद महतोको भनाइ छ । तर, आर्थिक स्थिति दयनीय भएका कारण उनको उपचारमा ढिलाइ भइरहेको उनको भनाइ छ ।
बिर्तामोड–३ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयको कक्षा–११ मा अध्ययनरत आर्यनलाई बचाइ दिन उनको परिवारजनले आग्रह गरेका छन् । दैनिक मजदुरी गरेर जीविका चलाउँदै आएका आर्यनको परिवारले हालसम्म, आफन्त साथीभाइसँग सरसापट गरेर उपचार गरिरहेका छन् । आर्यनलाई अप्लास्टिक एनिमिया भएको चिकित्सकले बताएका छन् ।
बिरामीलाई सहयोग गर्न इच्छुक दाता, सहयोगी संस्था तथा सामाजिक ब्यक्तित्वले आर्यनको आमा कमला महतोको नाममा एनआइसी बैंक बिर्ताबजार शाखामा रहेको खाता नम्बर २४६५५७५२९४१२२६००१ रकम जम्मा गर्न सक्ने जनाइएको छ । त्यस्तै, तल दिएको क्युआर कोडमा रकम जम्मा गर्न सबै समक्ष आफ्नतले आग्रह गरेका छन् ।
अप्लास्टिक एनिमियाको कारण के हो ?
कतिपय बालबालिकालाई यो समस्या जन्मजात पनि हुन्छ । धेरै पटक ‘अटोयम्युन’ आफ्नै प्रतिरक्षा प्रणालीले स्वस्थ कोषिकाहरुलाई आक्रमण गर्छ र तिनीहरूलाई बिस्तारै मार्न थाल्छ । यसले हड्डीमा रहेका कोषिकाहरूलाई पनि नष्ट गर्न थाल्छ, जुन एक विकार हो । भाइरल संक्रमण पनि अप्लास्टिक एनिमियाको कारण हुन सक्छ । भाइरसमा हेपाटाइटिस बी, एचआइभी, एपस्टेन–बार, साइटोमेगालो भाइरस पनि पर्छन् ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



