
झापा, २२ पुस । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना गरिने भएको छ ।
सरकारले निर्वाचन प्रहरी भर्ना, छनोट नियुक्ति र परिचालन सम्बन्धी मापदण्ड स्वीकृत गरेको हो । गृह मन्त्रालयका अनुसार, १० दिन तालिम र ३० दिन कार्यस्थलमा खट्नेगरी नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत १५ हजार १ सय १० परिचालन हुनेगरी मापदण्ड स्वीकृत गरिएको हो ।
भर्ना हुने म्यादीलाई प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमान अनुसार तलब, पोशाक र सम्बन्धित जिल्लाको दररेट अनुसार राशन दिइनेगरी सुविधा उपलब्ध गराइने बताइएको छ । तलब, राशन र पोशाक वापतको रकम सम्बन्धित व्यक्तिकै बैंक खातामा जम्मा हुनेगरी उपलब्ध गराइनुका अतिरिक्त म्यादी छनोटपछि आउने र जाने तयारी खर्च अन्तर्गत प्रतिव्यक्ति ८ सय ४६ रुपैयाँ र ४ दिनको खाजा खर्च एकमुष्ट १ हजार २ सय दिइने उल्लेख छ । भर्नाका लागि १८ वर्षदेखि ५४ वर्ष उमेर समूहका मानिसले आवेदन दिन सक्ने गृह मन्त्रालयले जनाएको छ ।


