
झापा, २८ पुस । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटस्थित निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्र परिसरमा शनिबार बिहान तीन जनाको शव फेला परेपछि स्थानीय क्षेत्र स्तब्ध बनेको छ । घटनाको स्वरूप अत्यन्तै विभत्स देखिएको छ तर हत्यामा संलग्न व्यक्तिहरु र कारणबारे प्रहरीले अझै ठोस निष्कर्ष निकाल्न सकेको छैन ।
मृतक मध्ये एक जनाको पहिचान खुलेको छ । मृतक शुक्लागण्डकी–११ पाल्पालीछापका करिब ४० वर्षीय नारायण विक रहेको र उनी प्रशोधन केन्द्रमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए । मृतक एक पुरुष र एक महिलाको पहिचान खुल्न सकेको छैन् । उनीहरु जो फोहोर सङ्कलन गरेर जीविका चलाउँदै आएको बुझिएको छ ।
दुई पुरुषको पेटमा धारिलो हतियार प्रहार गरी चिरिएको अवस्थामा शव भेटिएको थियो भने एक टेन्टभित्र, अर्को बाहिर । महिलाको शव करिब ७ सय मिटर तल खोलामा भेटिएको थियो । उनको घाँटी रेटिएको थियो । घटनास्थलमा प्रयोग भएको धारिलो हतियार भेटिन नसक्दा अनुसन्धान जटिल बनेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी श्रवणकुमार विकका अनुसार, सम्पूर्ण प्रहरी संयन्त्र घटनाको अनुसन्धानमा केन्द्रित छ । प्रारम्भिक अनुसन्धानमा तालिमप्राप्त कुकुर प्रयोग गरिएको थियो । कुकुरले शव भेटिएको स्थानबाट प्रशोधन केन्द्र क्याम्पस बस्ती हुँदै पृथ्वीराजमार्गसम्मको बाटो देखाएको थियो । राजमार्गमा पुगेर कुकुर अलमलिएको हुँदा संलग्न व्यक्तिहरु गाडी चढेर भागेको अनुमान गरिएको छ ।
शवलाई पोस्टमार्टम र फरेन्सिक परीक्षणका लागि पठाइएको छ । अन्य दुई मृतकको पहिचान नखुलेका कारण अनुसन्धानमा चुनौती थपिएको छ ।
डीएसपी विकले कोही आफन्त वा चिनजानका व्यक्ति सम्पर्कविहीन भएमा तत्काल प्रहरीलाई जानकारी दिन आग्रह गरेका छन् । उनले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै सूक्ष्म अनुसन्धान जारी रहेको बताए, तर अहिलेसम्म ठोस सुराक हात नलागेको स्पष्ट पारे ।


