
झापा, १९ माघ । पारिवारिक कथावस्तुमा आधारित नेपाली चलचित्र ‘तिलस्मी’को आजदेखि छायाँकन शुरु भएको छ ।
सुनौलो तारा मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘तिलस्मी’को झापाको हल्दिबारी–१ स्थित सिंहबाहिनी मन्दिर शुभमूर्हत गरेसँगै छायाँकन शुरु भएको हो ।

चलचित्रकी कथाकार एवम् निर्देशक तारा अधिकारीले पारिवारिक कथावस्तुमा आधारित चलचित्र ‘तिलस्मी’ अचम्म लाग्ने, विश्वासै गर्न जादुगरी हुने बताउनुभयो । चलचित्रको ९५ प्रतिशत छायाँकन झापामै हुने र केही इलामको कन्याम लगायतको स्थानमा हुने उहाँले बताउनुभयो ।
“कथावस्तुले झापालाई निकै मिल्ने भएकाले झापालाई नै छायाँकन मूल स्थान बनाएका हौं”, उहाँले भन्नुभयो, “अरुतिर पनि केही छायाँकन हुनेछ ।” करिब २० दिनमा छायाँकनको काम सकिने उहाँले बताउनुभयो । चलचित्र रिलिजको मिति नतोकिए पनि जेठको पहिलो साता पर्दामा आउने जनाइएको छ ।
चलचित्रको पटकथा तथा सम्वाद बाबुराम निरौलाले तयार पार्नुभएको छ । चलचित्रमा कलाकार सुनिशा बजागाईं, महेश खड्का, जान्वी बस्नेत, रस्मी भट्ट लगायतको अभिनय रहने निर्माण पक्षले जनाएको छ ।
कलाकार सुनिशा बजगाईंले तिलस्मीको कथा पढ्दा आफू निकै आकर्षिक भएको बताउनुभयो । कथावस्तु निकै रोचक भएकाले दर्शकले चलचित्र रुचाउने उहाँको भनाइ छ ।

