
बिर्तामोड, २१ माघ । झापाको बिर्तामोड नगरपालिका–२ चैतुबारीस्थित क्षेत्रबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो । प्रहरीले बिर्तामोड नगरपालिका–४ का २६ वर्षीय सुशील विक र बिर्तामोड नगरपालिका–३ का ३३ वर्षीय प्रकाश विकलाई शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट खैरो हिरोइन जस्तो देखिने लिसिइलो पदार्थ बरामद गरेको थियो ।
मान्यता प्राप्त डिजिटल तराजुमा तौल गर्दा उक्त पदार्थ प्लास्टिकसहित ८ ग्राम ४३० मिलिग्राम र प्लास्टिक बाहेक ६ ग्राम ८३० मिलिग्राम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरूको साथबाट दुई थान कीप्याड मोबाइल र अगाडि २ ह ९६४४ तथा पछाडि २ ह १६४६ नम्बर लेखिएको अटोसमेत बरामद गरिएको छ ।
प्रहरीले दुवै व्यक्तिलाई लागु औषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।


