
भद्रपुर, २१ माघ । झापा जिल्ला हुलाक कार्यालयका प्रमुख दामोदर घिमिरेको बिदाई गरिएको छ ।
अनिवार्य अवकाश पाउनुभएका कार्यालय प्रमुख घिमिरेलाई आज एक विशेष कार्यक्रमका बीच बिदाई गरिएको हो । कार्यालयका निमित्त कार्यालय प्रमुख टेकप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सेवानिवृत्त घिमिरेको प्रमुख आतिथ्य रहेको थियो ।
आठ वर्षभन्दा बढी समय जिल्ला हुला कार्यालय झापाको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका घिमिरेको बिदाईमा कर्मचारी मनोज तिम्सिना, प्रेस क्बल भद्रपुरका अध्यक्ष राजबाबु शंकर, नेपाल पत्रकार महासंघ झापाका सचिव राजु पाठक, महासंघका कार्यसमिति सदस्य सन्तोष शर्मा, भीमप्रसाद भट्टराई, पालिका हुलाकका कार्यालय प्रमुख तथा अन्य कर्मचारीको बाक्लो उपस्थिति रहेको थियो ।

बिदाई समारोहमा उहाँलाई सम्मान गर्नुका साथै विभिन्न कर्मचारीहरुले मायाको चिनो प्रदान गर्दै आगामी जीवनमा थप सफलताको कामना गरेका थिए । कार्यक्रमको सञ्चालन कार्यालयकी कर्मचारी शर्मिला श्रेष्ठले गर्नुभएको थियो ।
सेवा निवृत्त घिमिरेले आफू कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदा सबैको साथ सहयोग पाएको बताउनुभयो । उहाँले हुलाकका सम्पूर्ण कर्मचारीबाट केही न केही सिक्ने अवसर पाएको समेत बताउनुभयो ।
२०५७ साल पुस २५ गते जिल्ला विकास कार्यालयमा खरिदारको पदमा नियुक्त हुनुभएका घिमिरे २०६० साल असार १ देखि रा.प.अ.नं प्रथम श्रेणी (नासु) पदमा नियुक्त हुनुभएको थियो । २०७४ साल वैशाख ३० गतेबाट रा.प. तृतीय श्रेणी पदमा बढुवा भई २०७४ साल असार १ गतेदेखि जिल्ला हुलाक कार्यालय झापाको प्रमुख रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले २०८२ माघ २१ देखि अनिवार्य अवकाश पाउनुभएको हो । सरल र मिजाशिला स्वभावका घिमिरे कर्तव्यनिष्ठ कर्मचारीको रुपमा चिनिनुहुन्छ ।


