
भद्रपुर, ३ फागुन । झापाको भद्रपुरबाट प्रकाशित सुखानी सन्देश साप्ताहिकको ‘वैदेशिक रोजगार विशेषांक’ (म्यागेजिन) विमोचत गरिएको छ ।
प्रेस क्लब भद्रपुरको आयोजनामा आज भद्रपुरस्थित क्लबकै सभाहलमा विशेषांकको विमोचन गरिएको हो । क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रेस इन्सिच्युटका अध्यक्ष तीर्थ कोइराला रहनुभएको थियो ।

प्रमुख अतिथि कोइरालाले मानिस प्रगति खोज्ने र त्यसका लागि चलायमान हुने प्राणी रहेको बताउनुभयो । ‘अहिलेको पुस्ता पनि प्रगतिकै खोजीमा बाहिर जाने गरेका छन्’, उहाँले भन्नुभयो, ‘सबै कुरा नराम्रो छैन, नयाँ ठाउँमा गएर नयाँ कुरा सिक्छन् ।’ मानव जातिको इतिहास चलायमान रहेको उहाँले बताउनुभयो । ‘सुखानी पत्रिकाले धेरै कुराले प्रकारन्तरले समेटेको छ’, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धनबहादुर पन्धाक, नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष तारामणि सापकोटा, सञ्चारिका समूह नेपाल झापा शाखा अध्यक्ष लीला अनमोल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
महासंघ झापा अध्यक्ष एकराज गिरीले विशेषांकको टिप्पणी गर्नुहुँदै म्यागेजिनमा वैदेशिक रोजगारको सकारात्मक, नकारात्मक पक्षको उजागर गरिएको बताउनुभयो । प्रेस क्लब भद्रपुरका महासचिव भेषराज नेपालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन क्लबका उपाध्यक्ष रोहित काफ्लेले गर्नुभएको थियो ।
विशेषांक कलेवर (कभर) सहित १२८ पृष्ठको रहेको छ । उक्त विशेषांकमा वैदेशिक रोजगारको क्षेत्रमा रहेको अवसर, समस्या, चुनौती र त्यसका समाधानका विषयवस्तु समेटिएका छन् ।

