
बिर्तामोड, ३ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का झापा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डिल्लीराम घिमिरे (हिक्मत) ले यहाँका मतदातासमक्ष २६ बुँदे प्रतिबद्धता जनाउनुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रचार–प्रसार झापा क्षेत्र नं. ३ क्षेत्रीय समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उम्मेदवार घिमिरेले आफ्ना प्रतिबद्धता जनाउनुभएको हो ।

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य पुष्पराज पोखरेल उम्मेदवारमा नयाँ, पार्टीमा पुरानो, यही भुगोलमा रहेर राजनीतिक–सामाजिक योगदान दिएको व्यक्तिलाई उम्मेदवार बनाएको बताउनुभयो । धेरै कुरामा योग्य भएकाले पार्टीले उम्मेदवार बनाएको उहाँले बताउनुभयो । ‘गाउँघरमा पुग्दा मतदाताले योग्य र उपयुक्त उम्मेवार पाएको भन्दै खुसी जनाएका छन्’, उहाँले भन्नुभयो, ‘मतदाताहरुले असाध्यै माया गर्नुभएको छ ।’
पत्रकार सम्मेलनमा पार्टी नेता मोहन टुडूले पार्टीबाट कुनै अवसर नपाएको जुझारु युवालाई उम्मेदवार बनाएको बताउनुभयो । जेनजी आन्दोलनको भावनालाई समेटेर पनि उम्मेदवार बनाइएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा युवा उम्मेदवार घिमिरेले ‘सुशासन र रोजगारका लागि समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ आफ्नो उम्मेदवारी दिएको बताउनुभयो । ‘जेनजी आन्दोलनको मुख्य एजेण्डा नै राजनीतिक स्थिरता र सुशासन नै थियो’, उहाँले भन्नुभयो ।
यस्ता छन् २६ बुँदे प्रतिबद्धता
१. संवैधानिक सर्वोच्चता, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, सुशासन जस्ता क्षेत्रमा कार्य गर्न ई–कमर्श तथा ई–गभर्नेन्स मैत्री कानून निर्माण गर्न गरिनेछ ।
२. नेपालको संविधानले प्रत्याभूत गरेको निःशुल्क शिक्षा, स्वास्थ्य सुनिश्चित गर्न तथा रोजगार विस्तार गर्न पर्यटन तथा सेवामूलक क्षेत्रमा नीतिगत तथा संरचनागत रुपान्तरण हुन सक्ने कानून निर्माण गरिनेछ ।
३. भद्रपुरको मेची प्रादेशिक अस्पतालको क्षमता तथा गुणस्तर विकास गरी मेडिकल कलेजमा रुपान्तरण गर्ने, मेची बहुमुखी क्याम्पसलाई बहुप्राविधिक विषयका स्नातकोत्तर तहसम्मको अध्ययन हुने शैक्षिक केन्द्र बनाउन पहल गरिनेछ ।
४. विद्यालयको पूर्वाधार विकास तथा गुणस्तरीय शिक्षाका लागि कचनकबल गाउँपालिकाको बनियानीमा स्नातक तहको बहुप्राविधिक विद्यालय स्थापना गरी यस निर्वाचन क्षेत्रका सबै सामुदायिक माध्यमिक विद्यालयमा न्युनतम् एक प्राविधिक विषय अध्ययन हुने प्रवन्ध गरनेछ ।
५. स्थानीय भाषालाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिन पहल गर्ने तथा आदिवासी कोच समुदायको भाषा, संस्कृतिको अध्ययन, अनुसन्धान तथा संरक्षणका लागि सामुदायिक विद्यालयमा कोच भाषाको पाठ्यक्रम लागू गरी कुनै एउटा कोच बस्तीलाई नमूना कोच जैविक संग्रहालयको रुपमा विकास गरिनेछ ।
६. अल्पसंख्यक मुस्लिमको भाषिक तथा धार्मिक उत्थानका लागि दरबन्दीसहितको मदरसा, सन्थाल समुदायको भाषा–संस्कृतिको संरक्षण गरी प्रत्येक पालिकामा न्युनतम् एउटा गुरुकूल स्थापना गरिनेछ ।
७. स्थानीय पाठ्यक्रम कार्यान्वयनमा जोड दिँदै विद्यालय तहमा दरबन्दीको व्यवस्था, शिक्षक, कर्मचारी, बाल शिक्षकको स्थायी प्रक्रियाका लागि प्रयास गरिनेछ ।
८. “एक पालिका, एक अस्पताल”को अवधारणा अन्तर्गत बनियानी र राजगढमा रहेको स्वास्थ्य केन्द्रलाई प्राविधिक जनशक्ति तथा उपकरणसहितको सुविधा सम्पन्न ५० शैयाको अस्पतालमा विकास गर्न विशेष पहल गरिनेछ ।
९.स्थानीय तहका विभिन्न स्थानमा सामुदायिक, ज्येष्ठ नागरिक भवन तथा शिशु स्याहार केन्द्र निर्माण गरिनेछ । यस्ता भवन प्रविधि तथा स्वास्थ्यमैत्री बनाइनेछ ।
१०. “महिला सेवा पहिला”, “सुत्केरी आमाः पोषिलो खाना”, “सबै खाले हिंसाको निर्मूल” जस्ता लोक कल्याणकारी अभियानलाई प्राथमिकताका साथ अघि बढाइनेछ ।
११. स्थानीय सरकारलाई कृषि औजारको सुलभ व्यवस्थापन, कृषि उत्पादकत्व वृद्धि, कृषि रोजगार जस्ता क्षेत्रमा कार्य गरी प्रत्येक पालिकामा एक हरित गृह (कोल्ड स्टोर) निर्माण गरिनेछ ।
१२.व्यावसायिक पशुपालन, माछापालन, सागसव्जी उत्पादन तथा जडिबुटी खेतीलाई प्रोत्साहन गर्न आवश्यक कार्य गरिनेछ । दुग्ध उत्पादन वृद्धि तथा बिक्री प्रवन्धका लागि “एक पालिका एक चिस्यान केन्द्र” निर्माण गरिनेछ ।
१३.यस क्षेत्रमा पक्की सडक बिस्तार, चक्रपथ, पुल निर्माण तथा निर्वाचन क्षेत्र स्तरीय सडक निर्माण गरिनेछ । साथै, यस क्षेत्र अन्तर्गतको बिरिङलगायतका नदीमा तटबन्धन निर्माण गर्न पहल गरिनेछ ।
१४.खानेपानी नभएका पालिकामा खानेपानी आयोजना निर्माण गर्न संघीय तथा प्रादेशिक सरकारसँग समन्वय गरी यस क्षेत्रका २८ वटै वडामा स्वच्छ खानेपानीको प्रवन्ध गरिनेछ ।
१५. राष्ट्रिय चिया तथा कफी विकास बोर्ड मार्फत चिया किसान र उद्यमीलाई आवश्यक उपकरणहरु, जैविक किटनाशक औषधि उपलव्ध गराइनेतर्फ अग्रसरता लिइनेछ । यस क्षेत्रमा चिया लिलामी केन्द्र, चिया तालिम केन्द्र, चिया तथा कफी विकास बोर्डको सम्पर्क कार्यालय स्थापना गरिनेछ ।
१६. धान सुपर जोनको पुनःस्थापना, कृषि आधुनिकीकरण, नदी तथा भूमिगत सिंचाई आयोजना संचालन, उन्नत बिउबिजन, मल, किटनाशक औषधि, कृषि उपज भण्डार तथा बिक्री केन्द्र स्थापना गर्न आवश्यक कदम चालिनेछ ।
१७. यस क्षेत्रभित्रका घरेलु उद्योग तथा संचालनमा रहेका कलकारखानाको संरक्षण, संवद्र्धन, विकास र विस्तार गरी मोमेन्टो गार्मेन्ट संचालनको लागि आवश्यक पहल गरिनेछ ।
१८. चिया मजदुर लगायत अन्य क्षेत्रमा कार्यरत श्रमिकको अवस्थामा सुधार ल्याउन सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयन, न्यायोचित ज्याला, कार्य स्थल सुरक्षा, बीमा, औषधी उपचारका लागि आवश्यक कदम चालिनेछ ।
१९. प्रत्येक पालिकामा युवा स्वरोजगार सिर्जनाका लागि सीपमुलक तथा व्यावसायिक तालिम केन्द्र संचालन गरिनेछ ।
२०. निर्वाचन क्षेत्र भित्रका सीमान्तकृत सन्थाल÷माझी, लोपोन्मुख मेचे÷हायु÷झाँगड, अल्पसंख्यक मुस्लिम, दलित समुदाय तथा अति विपन्न परिवारका लागि “सहज आवास कार्यक्रम” अघि बढाउँदै कम्तीमा ४०० परिवारलाई अनुदानमा आवास उपलव्ध गराइनेछ ।
२१. प्रत्येक पालिकामा बारुण यन्त्र तथा शवबाहनको व्यवस्था गरिनेछ ।
२२.आदिवासी जनजातिको भाषा संस्कृति उत्थानका लागि कमलधापमा समावेशी संग्रहालयसहितको अध्ययन प्रतिष्ठान स्थापना गरी नेपालको होचो भू–भाग कचनकबल, ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वको स्थल किच्चकबधको उत्खनन् एवम् पूर्वाधार निर्माण गरी जलथल जंगलबाट उत्तर बग्ने उत्तर गंगालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिनेछ ।
२३. भद्रपुर नगरपालिका वडा न. ८ मा यस प्रदेशकै गौरवका रुपमा रहेको गिरिजाप्रसाद स्मृति भवनको निर्माण कार्यलाई शीघ्र सम्पन्न गरी ऐतिहासिक जनआन्दोलनको साझा स्मृति संग्रहालयको रुपमा विकास गरिनेछ ।
२४. जलथल बनको जैविक विविधता संरक्षण गरी यस बनलाई हात्ती संरक्षण केन्द्रको रुपमा विकास गर्ने तथा यस क्षेत्रका अन्य बनलाई समेत जैविक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेछ । साथै, हात्ती प्रवाभित नागरिक तथा बस्तीको संरक्षणका लागि विशेष पहल गरिनेछ ।
२५. मेची रंगशालालाई पूर्वाधारयुक्त बनाई “एक पालिका, एक खेल मैदान”को अवधारणालाई कार्यान्वयन गरी खेलकुद प्रशिक्षण केन्द्र स्थापना गरिनेछ ।
२६. मेची नदी पूर्वको बस्तीमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रको विकासका लागि विशेष पहल गरिनेछ ।

