
देवेन्द्र किशोर ढुङगाना
विश्व राजनीति तीव्र गतिमा बदलिँदै छ। यो परिवर्तनको प्रमुख चालक शक्तिका रूपमा उभिएको छ—जेन जेड पुस्ता। डिजिटल युगमा हुर्किएको यो पुस्ता केवल प्रविधिको प्रयोगकर्ता मात्र होइन, प्रविधिलाई राजनीतिक अभिव्यक्तिको माध्यम बनाउने पुस्ता हो। सामाजिक सञ्जाल, अनलाइन अभियान, डिजिटल आन्दोलन र वैकल्पिक सञ्चार माध्यमहरूले उनीहरूलाई परम्परागत शक्ति संरचनाविरुद्ध प्रश्न उठाउने आत्मविश्वास दिएका छन्। जुलाई/अगस्त २०२४ मा बंगलादेशमा देखिएको जेन जेड–नेतृत्वको विद्रोह त्यसैको एउटा सशक्त उदाहरण हो।
तर इतिहासले सिकाउँछ—आन्दोलन अन्तिम निष्कर्ष होइन, सुरुवात हो। वास्तविक परीक्षा आन्दोलनपछि सुरु हुन्छ।
बंगलादेशमा भएको विद्रोहले शेख हसिनाको दीर्घकालीन सत्तालाई समाप्त गर्यो। विद्यार्थी र युवा वर्गको समर्थनमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। त्यसपछि भएको १३ औं संसदीय चुनावमा बंगलादेश राष्ट्रवादी पार्टी (बिएनपी ) ले दुई तिहाइ बहुमतसहित सत्ता पुनः प्राप्त गर्यो। अवामी लिगलाई चुनावमा प्रतिबन्ध लगाइएपछि प्रतिस्पर्धा सीमित भयो, जसले चुनावको चरित्रमाथि प्रश्न उठाइयो।
रोचक तथ्य के रह्यो भने सामाजिक सञ्जालमा अत्यधिक लोकप्रिय जेन जेड युवाहरू चुनावी मैदानमा सफल हुन सकेनन्। यसले स्पष्ट सन्देश दिन्छ—डिजिटल लोकप्रियता र चुनावी जनादेश समानार्थी होइनन्। लाइक, सेयर र ट्रेन्डिङ हैशट्यागले सधैं मतपत्रमा रूपान्तरण पाउँदैनन्।
नयाँ प्रधानमन्त्री तारिक रहमान, पूर्व राष्ट्रपति जियाउर रहमान र पूर्व प्रधानमन्त्री खालेदा जियाका पुत्र हुन्। यसले फेरि एकपटक दक्षिण एसियाली राजनीतिमा पारिवारिक विरासतको निरन्तरता देखायो। विद्रोहले पुरानो संरचना भत्कायो, तर शक्ति पुनः एक स्थापित राजनीतिक वंशकै हातमा पुग्यो। यसले प्रश्न उठाउँछ—के यो वास्तविक संरचनागत परिवर्तन हो, वा केवल पात्र परिवर्तन हो ?
आन्दोलनहरूले ऊर्जा दिन्छन्, तर संस्थाले स्थायित्व दिन्छन्। कुनै पनि देशको वास्तविक दिशा त्यसबेला स्पष्ट हुन्छ जब संस्थाहरू—न्यायपालिका, निर्वाचन आयोग, नोकरशाही, संसद—स्वतन्त्र र सक्षम रूपमा काम गर्न सक्छन् कि सक्दैनन् भन्ने परीक्षण हुन्छ।
यदि सेवा प्रवाह पारदर्शी छैन, न्यायिक स्वतन्त्रता कमजोर छ, र प्रशासनिक संयन्त्र राजनीतिक प्रभावमा छ भने, कुनै पनि नयाँ सरकार दीर्घकालीन रूपमा सफल हुन सक्दैन। लोकतन्त्र व्यक्तिको करिश्मामा होइन, प्रक्रियाको विश्वसनीयतामा टिक्छ।
बंगलादेशमा अब चुनौती यही हो—विद्रोहले खोलेको ढोका संस्थागत सुधारतर्फ मोडिन्छ कि पुनः शक्ति केन्द्रीकरणतर्फ?
दक्षिण एसियाली सन्दर्भ र नेपालको पाठ
बंगलादेशको राजनीतिक उथलपुथलले नेपाललाई पनि गम्भीर सन्देश दिएको छ। नेपाल स्वयं पनि राजनीतिक संक्रमणको दीर्घ यात्रामा छ—राजतन्त्रदेखि गणतन्त्र, संघीयतादेखि समावेशी संविधानसम्मको राजनीतिकमा अभ्यान्तरित छ । तर परिवर्तनको गति र परिणामले युवामा निराशा बढाइरहेको छ।
नेपालमा पनि जेन जेड पुस्ता सामाजिक सञ्जालमार्फत राजनीतिक विमर्शमा सक्रिय छन । उनीहरू परम्परागत दलहरूप्रति आलोचनात्मक छन्, पारदर्शिता र उत्तरदायित्वको माग गर्छन्। तर बंगलादेशको अनुभवले देखायो—केवल असन्तोष पर्याप्त हुँदैन; वैकल्पिक संस्थागत संरचना निर्माण गर्न सक्ने क्षमता चाहिन्छ।
नेपालमा नयाँ राजनीतिक दलहरूको उदय, स्वतन्त्र उम्मेदवारहरूको लोकप्रियता र डिजिटल अभियानहरूको प्रभाव देखिएको छ। तर अन्ततः प्रश्न उही रहन्छ—के यी शक्तिहरूले दीर्घकालीन नीति, सुशासन र आर्थिक सुधार दिन सक्छन्?
आजको राजनीति छवि–केन्द्रित बन्दै गएको छ। सामाजिक सञ्जालले नेता र दललाई प्रत्यक्ष रूपमा नागरिकसँग जोडिदिएको छ। तर जनमतको डिजिटल प्रतिबिम्ब सधैं यथार्थ जनादेश होइन।
बंगलादेशको चुनावले प्रमाणित गर्यो—अन्ततः मतदाता स्थायित्व, अनुभव र संगठित संरचनालाई प्राथमिकता दिन सक्छन्। भावनात्मक विद्रोहपछि मतदाताले सुरक्षित विकल्प रोज्न सक्छन्।
नेपालमा पनि यो चेतावनी लागू हुन्छ। डिजिटल क्रान्तिले बहस जन्माउँछ, तर निर्वाचन प्रणाली, दलको संगठन, स्थानीय सञ्जाल र नीति–दृष्टिकोणले नै अन्तिम परिणाम निर्धारण गर्छ।
स्थिर लोकतन्त्र त्यो हो,जसले फरक विचारलाई स्थान दिन्छ। आलोचना राष्ट्रविरोधी होइन; त्यो लोकतन्त्रको प्राण हो। बहुमत आजको सत्य हो भने भोलि अल्पसंख्यक हुन सक्छ। त्यसैले नियम र प्रक्रियाको सम्मान अनिवार्य छ।
बंगलादेशमा अवामी लिगलाई चुनावबाट प्रतिबन्ध लगाइनु लोकतान्त्रिक अभ्यासको दृष्टिले जटिल विषय हो। प्रतिस्पर्धाविहीन वा सीमित प्रतिस्पर्धा भएको चुनावले दीर्घकालीन स्थायित्व दिन सक्छ कि सक्दैन भन्ने प्रश्न खुला छ।
नेपालले यहाँबाट सिक्नुपर्ने कुरा के हो भने—राजनीतिक असहमति समाधानको माध्यम प्रतिबन्ध होइन, संवाद र संस्थागत सुधार हुनुपर्छ।
बंगलादेशको नयाँ सरकारको शपथ ग्रहणमा नेपालका विदेशमन्त्रीको उपस्थिति केवल कूटनीतिक औपचारिकता मात्र थिएन; यो ऐतिहासिक सम्बन्धको निरन्तरता पनि थियो। बंगलादेशको स्वतन्त्रता आन्दोलनमा नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको समर्थन स्मरणीय छ।
आज जब दक्षिण एसियाली लोकतन्त्रहरू विभिन्न चुनौतीसँग जुधिरहेका छन्—अर्थतन्त्र, युवाको बेरोजगारी, सामाजिक ध्रुवीकरण—बंगलादेशमा भएको लोकतान्त्रिक चुनाव क्षेत्रीय सन्देश पनि हो। संक्रमणपछि पनि निर्वाचनमार्फत सरकार गठन हुनु सकारात्मक संकेत हो।
तर त्यो पर्याप्त होइन। लोकतन्त्रको सफलता केवल चुनाव सम्पन्न हुनुमा होइन; चुनावपछि सुशासन र समावेशी विकास दिन सक्नुमा छ।
नेपालको परिवर्तित राजनीतिक धरातल
नेपालमा राजनीतिक परिवर्तनको यात्रा लामो छ, तर परिणामप्रति जनताको धैर्यता घट्दो छ। युवाले अवसर देशभित्र वा विदेशमा खोजिरहेका छन । यदि राज्यले रोजगारी, शिक्षा र स्वास्थ्यमा विश्वसनीय सुधार दिन सकेन भने असन्तोष डिजिटल आन्दोलनबाट सडकसम्म पुग्न सक्छ।
बंगलादेशले देखाएको छ—युवा शक्ति परिवर्तनको चिंगारी बन्न सक्छ। तर त्यो चिंगारीले उज्यालो दिन्छ कि आगो लगाउँछ, त्यो संस्थागत व्यवस्थापनमा निर्भर हुन्छ।
नेपालले आफ्नो लोकतन्त्रलाई सुदृढ बनाउन न्यायिक स्वतन्त्रता, प्रशासनिक दक्षता, पारदर्शी सेवा प्रवाह र विश्वसनीय निर्वाचन प्रणालीलाई प्राथमिकता दिनैपर्छ। व्यक्तिवादी राजनीति र क्षणिक लोकप्रियताले दीर्घकालीन स्थायित्व दिन सक्दैन।
निष्कर्ष
जेन जेड विद्रोहले बंगलादेशमा सत्ता परिवर्तन गर्यो, तर वास्तविक परिवर्तनको यात्रा अझै जारी छ। आन्दोलन इतिहासको अध्यायको शीर्षक हो; मुख्य कथा संस्थागत सुधारले तय गर्छ।
नेपालका लागि सन्देश स्पष्ट छ—लोकप्रियता क्षणिक हुन सक्छ, तर संस्थागत विश्वसनीयता दीर्घकालीन पूँजी हो। लोकतन्त्रलाई व्यक्तिको करिश्माबाट प्रक्रियाको मजबुतीतर्फ लैजान सकिए मात्र परिवर्तन अर्थपूर्ण हुन्छ।
दक्षिण एसियाको भविष्य युवाको ऊर्जा र संस्थाको परिपक्वताबीचको सन्तुलनमा निर्भर छ। यदि त्यो सन्तुलन कायम गर्न सकियो भने विद्रोह केवल विघटन होइन, पुनर्निर्माणको आधार बन्ने छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


