
बिर्तामोड, १० फागुन । नेकपा एमाले झापा क्षेत्र नम्बर २ निर्वाचन परिचालन कमिटीको कार्यक्रम अनुसार फागुन ९ गते बिहान ७ बजेदेखि १२:३० बजेसम्म बिर्तामोड वडा नं. ६ र दिउँसो १ बजेबाट बिर्तामोड वडा नं १ मा उम्मेदवारसहित घरदैलो गरिएको छ ।
क्षेत्रीय निर्वाचन परिचालन समितिका संयोजक एकराज कार्कीको नेतृत्वमा गरिएको टोलस्तरीय घरदैलोका क्रममा क्षेत्र नं। २ का उम्मेदवार, एमाले नेता तथा पूर्व सभामुख देवराज घिमिरेले उक्त भूगोलका मतदाताहरू समक्ष स्वयम् उपस्थित भएर मत माग्नु भएको हो ।

वडा नं। १ मा वडा कमिटीका अध्यक्ष सुनिल सिवाकोटी ले सहजीकरण गर्नुभएको उक्त टोलस्तरीय कोणसभामा सूर्यध्वजावाहक उम्मेदवार घिमिरेले जनअपेक्षा अनुसारका भौतिक विकास निर्माणका काम पूरा गर्न साथै मुलुक सञ्चालनका निमित्त आवश्यक ऐन नियम बनाउन पुनः एमालेलाई मत दिन आग्रह गर्नुभयो ।
आफू पाँच वर्षका लागि निर्वाचित भएकाले कार्यकालभरि सम्पन्न गर्ने योजना बनाएर काम गरिरहेकोमा हठात संसद विघटन भई निर्वाचनमा होमिनु परेकाले थालेका अधुरा काम पूरा गर्नका लागि पुनः मतदान गरि विजयी बनाउन उहाँको आग्रह थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

