
झापा, १२ फागुन । झापामा एक जना एसपी थप गरिने भएको छ । सुरक्षा चुनौती भएका जिल्लामा प्रहरी प्रधान कार्यालयले जनशक्ति थप गर्ने योजना अनुसार निर्वाचनमा समन्वयका लागि झापा र सर्लाहीमा एकएक जना एसपी थप गर्ने तयारी भएको हो ।
निर्वाचनअघि सुरक्षाको अवस्था बुझ्न प्रदेशमा खटिएका अतिरिक्त महानिरीक्षक (एआईजी)हरूले प्रतिवेदन बुझाएका छन् । सो प्रतिवेदनमा झापा र सर्लाहीमा सुरक्षा चुनौति देखिएकाले एसपी थप गर्न लागिए हो । सरकारले सात वटै प्रदेशको सुरक्षा अवस्थाबारे अध्ययन गरेर प्रतिवेदन पेस गर्न सात जना एआईजीलाई फिल्डमा खटाएको थियो।

उनीहरूले आफू खटिएको प्रदेशको शान्ति सुरक्षाको अवस्था, चुनावमा आउन सक्ने चुनौती र त्यसको समाधानका लागि गर्नु पर्ने तयारी तथा निर्देशनका बारेमा प्रतिवेदन बुझाएका हुन्। एआईजीहरू राजन अधिकारी कोसीमा, मधेसमा डम्बर बिक, बागमतीमा सिद्धिविक्रम शाह, गण्डकीमा मनोज केसी, लुम्बिनीमा उमाप्रसाद चतुर्वेदी, कर्णालीमा सुशील सिंह राठौर र सुदूरपश्चिममा हिमालयकुमार श्रेष्ठ खटिएका थिए। काठमाडौँ उपत्यकामा एआईजी ईश्वर कार्की कार्यरत छन्। यहाँको सुरक्षा व्यवस्था उनकै कमान्डमा हुनेछ।
एआईजीहरूले आफ्नो प्रदेशका सबै जिल्लाको सुरक्षा अवस्था बुझेर चुनौती देखिएका स्थानको सुरक्षा योजना समेत पेस गरेका छन् ।
‘कतै जनशक्ति थप गर्नु पर्नेछ। कहीँ हेडक्वार्टरले गर्नु पर्ने निर्देशन र थपिदिनु पर्ने स्रोतसाधनको कुरा रिपोर्टमा सुझाइएको छ,’ प्रदेशबाट फर्किएका एक एआईजीले भने, ‘त्यही अनुसार निर्वाचनमा सुरक्षा व्यवस्था मिलाइने छ ।’
निर्वाचनमा ७२ हजार प्रहरी र एक लाख ३२ हजार ९८० जना निर्वाचन प्रहरी परिचालन हुँदैछन् । ३२ हजार सशस्त्र प्रहरी, सशस्त्र प्रहरीले भर्ना गरेका १५ हजार निर्वाचन प्रहरी र ८० हजार नेपाली सेना पनि परिचालन हुनेछन् । सबै सुरक्षाकर्मी फिल्डमा पुगिसकेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

