
राजेश ढुंगाना
नेपालको राजनीतिक इतिहासमा आउँदो फागुन २१ गते हुने आम निर्वाचनले धेरै अर्थमा विशेष महŒव राखेको छ । यो नियमित निर्वाचन पनि होइन र मध्यावधि निर्वाचन पनि होइन । विशेष परिस्थितिको उपज हो– आसन्न आम निर्वाचन ।
महान जेन्–जेड बलिदानको माग शायद परम्परागत निर्वाचन प्रक्रिया पक्कै थिएन । तर, अन्तरिम सरकारले नै निर्वाचन गर्ने बाध्यकारी भूमिका स्वीकारेपछि नयाँ पुस्ता (जेन्–जेड) क्रान्तिको माग र चाहनामा केही ठूलो मात्राको चोट पक्कै परेको छ ।

जेन्–जेड विद्रोहले पुरानै ढर्राको चुनाव भएर पुरानै व्यक्ति र दलहरूलाई पुनः अनुमोदन गर्ने माग बोकेको थिएन । यदि त्यसो हुँदो हो त, न त यो विद्रोहको आवश्यकता थियो; न त निर्वाचनको नै ।
जेन्–जेड क्रान्तिको मूल माग भनेको भ्रष्टाचार र कुशासनको अन्त्य थियो । त्यसैका निमित्त ७६ जना किशोर–किशोरीले जीवन बलिदान दिए; साढे ३ हजारभन्दा बढी घाइते र अपाङ्ग छन् ।
त्यसैले जेन्–जेड क्रान्तिले खोजेको मूल कुरा यो निर्वाचनले दिन सक्छ कि सक्दैन — कुरोको चुरो यसभित्र नै छ । केवल संसद् विघटन गर्ने काम मात्र गरेर पहिले नै जेन्–जेड क्रान्तिमाथि धोका भएकै हो । जेन्–जेड क्रान्तिको माग नै भ्रष्टाचारको अन्त्य भएपछि निर्वाचनअघि नै २०४७ सालपछि सत्तामा बसेका भ्रष्टाचारीहरूलाई कारवाही हुनु पर्दथ्यो कि पर्दैनथ्यो ?
जेन्–जेड क्रान्तिकै कारण र बलमा अन्तरिम सरकार गठन भएकाले सरकारले क्रान्तिको म्यान्डेटलाई शिरोधार्य गर्नु पर्दथ्यो, खुट्टा कमाउनु हुँदैनथ्यो । किन सन्तुष्ट भएर चुनाव गराउने कुरामा मात्र सीमित हुन मान्नु पर्ने थियो ? तर, सुशीला कार्कीबाट भएका यी भूलहरूको चर्चा गरिरहनु अब इतिहासका निमित्त रेकर्ड राख्नु बाहेक कुनै अर्थ राख्दैन । जेलमा हुनु पर्ने मान्छेहरू हुँकार गरेर चुनावमा प्रतिस्पर्धामा छन् । भोलि यिनीहरूलाई नै सत्ता सुम्पनका लागि यो चुनाव भइरहेको छ भने त्यो राष्ट्रकै लागि गम्भीर धोका, बेइमानी र अपराध हो । जेन्–जेड क्रान्तिले परिवर्तन खोजेको हो, न कि यथास्थिति र पश्चगमन ।
कतै विद्रोहलाई कुटिल रूपमा निस्तेज पार्न मात्र यो सरकारको जन्म गराइएको त होइन ?– यसको जवाफ मत परिणामले देखाउने छ । परिवर्तन र अग्रगमनको सट्टा पुरानै शक्तिहरूलाई पुनः अनुमोदित गर्ने हो भने यो निर्वाचनको आवश्यकता पनि थिएन र औचित्य समेत छैन ।
यद्यपि ‘यो निर्वाचनको विशेष महŒव रहेको छ’ भन्नुको अर्थ सुल्टो महŒवभन्दा यही शङ्काभित्रको उल्टो महŒवको कुरा हो । परिणाम सुल्टो अर्थात् परिवर्तनका पक्षमा निस्कियो भने यो निर्वाचनको आवश्यकता र औचित्य पुष्टि होला । अन्यथा यो निर्वाचन यथास्थिति, अझ पश्चगमनको पर्याय हुने छ ।
भदौमा भएको जेन्–जेड क्रान्ति त्यसै दबिएर गएको कसैले नठान्दा हुन्छ । रक्तबीज सरह फैलिन्छ र झाँगिन्छ । त्यसैले यो निर्वाचनले यथास्थिति र पश्चगमनलाई लालमोहर लगायो भने निश्चय नै योभन्दा ठूलो आन्दोलन हुने छ– मुलुकमा ।
र, सो आन्दोलनमा अब केवल युवाहरू सीमित र सम्मिलित हुने छैनन्; बालबालिका र वृद्धवृद्धा समेत सामिल हुनेछन् । त्यो दिन निर्वाचन वा कुनै पनि माध्यमबाट जनचाहना विरुद्ध छल गर्ने व्यक्ति र शक्तिहरूले हालै सत्ताच्यूत प्रधानमन्त्रीले झैं भाग्नु पर्ने छ । त्यो पनि स्वदेशभित्र होइन, कसैले शरण दियो भने विदेशमा । शरण समेत नपाए जनताले यथास्थितिवादी र अझ पश्चगमनकारीलाई सग्लो नराख्ने परिस्थिति आउन सक्छ ।
त्यसैले अब केवल लगभग दुई साता बाँकी छ, पर्खिनु पर्ने — अर्को चर्को क्रान्तिको नियति यो मुलुकले बेहोर्नु पर्ने हो कि होइन । तर, एउटा कुरा चाहिं पक्का हो – निर्वाचनले नै समेत भ्रष्टाचार र कुशासनलाई नै सदर ग¥यो भने पनि अब नेपाली जनताले त्यो मान्नेवाला छैनन् । यथासमय सबैमा चेतना भया । साप्ताहिक समाचारबाट साभार
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

