
बिर्तामोड, १३ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले झापा क्षेत्र नम्बर २ को मतदाता शिक्षा उपसमितिले आज पनि मतदाता शिक्षालाई निरन्तरता दिएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. २ मा मतदातालाई शिक्षा दिने उद्देश्यले मतदाता शिक्षा अभियानलाई निरन्तरता दिइएको पार्टीका केन्द्रीय सदस्य तथा मतदाता शिक्षा उपसमिति संयोजक धनबहादुर पन्धाकले जानकारी दिए । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट झापा–२ मा उम्मेद्वार बनेकी धर्मशीला चापागाईंलाई मतदाता गर्न मतदातालाई शिक्षा प्रदान गरिएको हो ।
मतदाता शिक्षा उपसमितिका संयोजक धनबहादुर पन्धाकको टोलीले अर्जुनधारा नगरपालिकाका केही वडा र बिर्तामोड नगरपालिकाका प्रत्येक वडामा मतदाता शिक्षा प्रदान गरेको हो । मतदाता शिक्षा उपसमितिले प्रत्येक वडाका पार्टी नेतृत्वलाई भेटेर मतदातालाई मतदाता नमूना सामग्री वितरण गर्दै मतदान गर्न सिकाएको छ ।
मतदान गर्दा मतपत्र बदर नहोस भनेर नेपाली कम्युनिष्ट पार्टी झापा क्षेत्र नं. २ मा मतदाता शिक्षा उपसमितिले मतदातालाई सहज बनाउन मतपत्रमा भोट हाल्ने तरिका, मतपत्र पट्याउने तरिका मतदाताहरुलाई सिकाएको संयोजक धनबहादुर पन्धाकले बताए ।
बाँकी रहेका अन्य वडाहरुमा बिहीबार मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने बताइएको छ । मतदाता शिक्षा कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दिपिन राई, मतदाता शिक्षा उपसमितिका सदस्य तीर्थ सिग्देल लगायतको समेत उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


