
झापा, १५ फागुन । आगामी फागुन २१ गते हुने आम निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय अग्रगामी गठबन्धनका समानुपातिक उम्मेदवार लाखबहादुर पालुङ्वा (एलपी) ले पाँचथरबासी जनतालाई सम्बोधन गरेका छन् ।
उम्मेदवारले आफ्नो सम्बोधनमा गठबन्धनको साझा चुनाव चिन्ह जाँतोमा मतदान गर्न आग्रह गर्दै पहिचान, स्वायत्तता र स्वशासनको अधिकारलाई स्थापित गर्ने संकल्प व्यक्त गरे । उनले प्रदेश–१ को नाम ‘कोशी’ औपनिवेशिक भएको दाबी गर्दै पहिचानको आधारमा नयाँ नामकरण गर्नुपर्ने आवश्यकता औंल्याए ।
यस्ता छन् सम्बोधनका मुख्य बुँदा
प्रदेशको नाम परिवर्तन गरी पहिचानअनुरूप नामकरण गर्नुपर्ने माग ।
संविधान सभाको सिफारिसअनुसार प्रदेश पुनर्संरचना गरी जाति, भाषा, संस्कृति र भूगोललाई सम्मान गर्ने व्यवस्था ।
लिम्बुवान प्रदेशको राजधानी पाँचथर फेदेनमा स्थापना गर्नुपर्ने प्रस्ताव ।
वर्तमान विकास मोडललाई ‘विनाशकारी’ भन्दै दीगो, आत्मनिर्भर र सामुदायिक अर्थतन्त्रमा आधारित विकासको पक्षपोषण ।
परम्परागत ज्ञान, सीप र संस्कृतिमा आधारित उत्पादनलाई प्रोत्साहन गरी ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने योजना ।
उम्मेदवारले विगतको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा सहभागिता जनाएको स्मरण गर्दै यसपटक गठबन्धनको साझा चिन्ह जाँतोमा मतदान गर्न पाँचथरका सम्पूर्ण मतदातालाई अपील गरेका छन् ।
उनले ‘जय पहिचान, जय बहुलराष्ट्रवाद, स्वदेशवाद र सामुदायिक समाजवाद जिन्दाबाद’ भन्ने नारा प्रस्तुत गर्दै जनताको आशीर्वाद मागेका छन् ।
यस्तो छ पूरा सम्बोधन
मेरा आदरणीय पाँचथर बासी बुबा – आमा, दिदीबहिनी तथा दाजूभाइहरु!
नमस्कार/ सेवारो/ फ्याफुल्ला/ झोर्ले/ सेवा/ सेवाङमी/छ्याजल्लो/ नेम स्याल/ जदौ/ टेसिडेललेक/ जोजोलोप्पा भनेर पहिचानी अभिवादन टक्र्याउँदछु।
आगामी फागुन २१ गते सम्पन्न हुने आम निर्वाचनमा राष्ट्रिय अग्रगामी गठबन्धनको साझा चुनाव चिन्ह जाँतोमा समानुपातिक तर्फबाट मेरो उम्मेदवारी रहेको छ। यस गठबन्धनले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त राजनैतिक उपलब्धिलाई बचाउँदै पहिचान, स्वायत्तता र स्वशासनको अधिकारलाई स्थापित गर्न यस चुनावलाई आन्दोलनकै स्वरुपमा लिएको छ। त्यसकारण, सम्पूर्ण पहिचान पक्षधर राजनैतिक पार्टीहरूको विचार , एजेण्डा र आन्दोलनलाई जाँतो चुनाव चिन्हले यो आम निर्वाचनमा नेतृत्वदायी भूमिकामा राख्दछ।।
आमा – बुबा, दाजुभाई तथा दिदीबहिनीहरु,
हामी १ नम्बर प्रदेशको नाम कोशी मान्दैनौ साथै यस प्रकारको प्रदेश संघीयताको सिद्धान्त, भावना र मर्म बमोजिम भएको बिल्कुल होइन। यो किनभने प्रदेशको नाम कोशीले यस भूभागमा बस्ने जाति, भाषा, संस्कृति, इतिहास र भूगोललाई सम्बोधन गरेन। त्यसैले गर्दा, कोशी औपनिवेशिक नाम हो। षड्यन्त्रपूर्वक प्रदेशको नाम कोशी थोपरे पछि यस प्रदेशमा सदियौं देखि बसोवास गरिरहेका समुदायहरूको स्वाभिमानमा ठूलो चोट पुग्न गयो। माङगेन्ना ढलेको छ। त्यसकारण, प्रदेशको नाम कोशी विस्थापित गरेर पहिचानको आधारमा नाम स्थापित गरिनु पर्दछ।
अर्कोकुरा, संघियताको भावना र मर्मलाई टेकेर संविधान सभाको राज्यपुनर्संरचना तथा शक्ति बाँडफाँड समिति र उच्च स्तरीय राज्यपुनर्संरचना आयोगको सिफारिसको आधारमा १ नम्बर प्रदेशको पुनर्संरचना हुन जरुर छ। अनिमात्र यस भूभागमा बसोबास गर्ने जाति, भाषा, संस्कृति, इतिहास र भूगोलको यथेष्ट विकास सम्मान हुने हाम्राे ठहर छ।
भन्नै पर्दा, अहिलेको अवस्थामा पहाडका ६ जिल्लाहरूको सांसद संख्याको प्रतिनिधित्व मोरङ एउटै जिल्लाबाट भइरहेको छ। यसबाट के स्पष्ट हुन्छ भने पहाड र हिमालका जिल्लाहरू राजनैतिक अधिकारको हिसाबले ज्यादै विभेदमा पारिएका छन्। देशको ८५ प्रतिशत भूभागलाई मारुभुमिकरण गरिंदै छ र आम बसाइँ सराईलाई प्रसय दिने काम भएकाे छ। यो कुरा तुरुन्त रोकिनु पर्दछ। त्यसैले गर्दा, प्रदेशको राजधानी पहाडमा हुनु पर्दछ।
लिम्बुवान प्रदेशकोको राजधानी पाँचथर फेदेनमा हुनुपर्छ। अनिमात्र लिम्बू समुदायले आफनो स्वायत्तता र स्वशासनको अधिकारलाई उपभोग गर्न पाउँदछन्। समुदायको भाषिक र सांस्कृतिक बिकास हुन्छ। तबमात्र मानिसहरूको बसाइँ सराई तराईबाट पहाड तिर हुन्छ किनभने सेवा, सुविधा र अवसरहरु राजधानी केन्द्रीत हुन्छन्। यो कुरा देशका सबै प्रदेशहरुमा लागू हुनुपर्दछ।
हाम्राे गठबन्धनले ताप्लेजुङको मूकुम्लुङ ( पाथीभरा ) मा केबुलकार सञ्चालन गरिनुपर्छ भन्ने बारे कुनै त्यस्तो कारण, आवश्कता तथा औचित्यता नरहेको र नभएको ठहर गर्दछ। यो कुरा विगतमा त्यस क्षेत्रमा विभिन्न चरणमा भएका आन्दोलन तथा प्रदर्शनीले जावाफादीसकेको छ।
हामी अहिले नेपालमा भइरहेको बिकास मोडेललाई बिकास नभई विनास ठान्छौ। बिकाश भनेको बहुआयामिक हुन्छ। त्यसकारण , हामी दीगो विकास मोडलमा जोड गर्दछौं।
हामी स्वादेशबादी हौ। त्यसकारण, विदेशी हस्तक्षेप, उपनिवेश, विचार, संस्कृति, उत्पादनलाई स्वीकार गर्नेवाला छैनौ। हामी हाम्राे मुन्धुम, सनातन धर्म – संस्कृति, सभ्यता, भूमि र प्रकृतिको बिचार र दर्शनलाई आत्मसात् गर्छौ। आत्मनिर्भर तथा स्वालम्वी अर्थतन्त्रको विकासमा जोड दिन्छौं। परम्परागत ज्ञान – सीप, संस्कृति र प्रविधिमा आधारित उत्पादनलाई प्रोत्साहन गर्दछौं। त्यसबाट रोजगारीको सिर्जना व्यापक हुन्छ।गर्दछौं। यसबाट उत्पादन हुने वस्तुको बजार ग्यारेण्टीको लागि पहलकदमी लिन्छौं। विशेषतः ग्रामीण अर्थतन्त्रको बलमा देशलाई आर्थिक विकास तथा समृद्धि तिर डोर्याउने कोशिशमा छौं।
एउटा कुरा, श्रम शारीरिक र मानसिक दुई प्रकारको हुन्छ। दुवै किसिमका श्रमलाई हामी सम्मान गर्छौँ। तर, श्रम उत्पादनको एउटा साधन मात्र हो। कुनै पनि वस्तु वा सेवाको उत्पादनमा श्रम संसँगै आधारभूत हिसाबले पूँजी, भूमि र संगठनको अनिवार्यता पर्दछ। उत्पादन मानवीय आवश्कता सँग जोडिएको हुन्छ। उत्पादन के गर्ने? कति गर्ने? कहाँ गर्ने? किन गर्ने? र यसको बजार र उपभोग सँग जोडिएको कुराहरूमा व्याक्ति केन्द्रीत नाफाखोर दलाल पुँजीवादी अर्थतन्त्रको विकल्पमा समुदायलाई केन्द्रमा राखेर उत्पादनका स्रोत साधनहरुलाई परिचालन र न्यायोचित सेवा, सुविधा र मुनाफा वितरण हुने सामुदायिक अर्थतन्त्रमा हामी जोड दिनेछौ।
पाँचथर बासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरु!
अघिल्लो ०८९ सालको आम निर्वाचनमा निर्बाचन आयोगले संघीय लिम्बुवान पार्टी नेपाललाई यसै नामबाट दल दर्ता नदिएकोले माहुरी चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवरको रुपमा म उपस्थित थिएँ। त्यसबखत पाँचथर जिल्लाको प्रायः सबै पालिकाहरुको मुख्य ठाउँहरूमा पुगेको छु। आगामी फागुन -२१ गते हुने निर्वाचनमा राष्ट्रिय अग्रगामी गठबन्धनको साझा चुनाव चिन्ह जाँतो को समानुपातिक उम्मेदवारको हैसियतले अन्य जिल्लाहरुमा पनि पुग्नु पर्ने भएकोले सम्पूर्ण पाँचथर बासी (याङवारक गाउँपालिका, हिलिहाङ गाउँपालिका , फालेलुङ गाउँपालिका , फिदिम नगरपालिका, फाल्गुनन्द गाउँपालिका, कुम्यायक गाउँपालिका , तुम्बेवा गाउँपालिका, र मिक्लाजोङ गाउँपालिका का मतदाता बुबाआमा, दाजुभाई तथा दिदीबहिनीहरु माझ स – शरीर भौतिक रूपले उपस्थित हुन नसकेकोले साथै देशव्यापी सम्पूर्ण पहिचान पक्षधर मतदाता महानुभावहरुलाई यसै भिडियो सन्देश मार्फत् यहाँहरुको अमूल्य मत जाँतो चुनाव चिन्हमा मतदान गरी देश र जनताकाे सेवा गर्ने मौका प्रदान गरिदिनुहोला भनी आग्रह, अनुरोध, अपील गर्दै यहाँहरु समक्ष आर्शिवाद माग्दछु।
जय पहिचान!
जय बहुलराष्ट्र बाद/ स्वदेश बाद/ सामुदायिक समाजवाद – जिन्दाबाद।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


