
बिर्तामोड, १६ फागुन । झापाको बिर्तामोड नगरपालिका–४ स्थित भित्री सडक खण्डमा गएराति कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
बिर्तामोड–४ कञ्चनजंघा स्कुल छेउस्थित भित्री सडकमा कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक मेचीनगर–१३ चारआलीका २५ वर्षीय विशाल पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार मोटरसाइलक पछाडि सवार कनकाई–६ का २५ वर्षीय चन्द्रकिशोर चापागाईं गम्भीर घाइते भएका छन् । राति करिब ९ः२० बजे बागमती प्रदेश–०१–०२५च ६०५० नम्बरको कार र प्र१–०१–०१६प ३९५९ नम्बरको मोटरसाइकल एक आपसपमा ठोक्किएका थिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका पौडेल र चापागाईंलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पु¥याइएकोमा पौडेललाई चिकित्सकले मृत घोषित गरेको थियो भने चापागाईंको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कार चालक बिर्तामोड–६ का २५ वर्षीय चिराग सिन्हालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


