
भद्रपुर, १६ फागुन । झापा क्षेत्र नं. ३ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार डिल्लीराम घिमिरे हिक्मत यतिबेला आम मतदाताको घरदैलोमा व्यस्त छन् ।
‘सुशासन र रोजगारका लागि समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ २६ बुँदे प्रतिबद्धता पत्र लिएर उम्मेदवार घिमिरे मतदाताको घरदैलोमा व्यस्त भएका हुन् । आफ्ना एजेण्डा प्रस्तुत गर्दै उहाँले आफूलाई मतदान गरेर जिताउन अपिल गरिरहेका छन् ।
जेन्जी आन्दोलनको मूल भावनालाई आत्मसात गर्दै युवाले चाहेको परिवर्तनका लागि आफू उम्मेदवार बनेको उहाँले बताउनुभयो । झापा क्षेत्र नं. ३ को परम्परागत विरासत भत्काएर आमनागरिकको विरासत खडा गर्ने सोचका साथ उहाँले मतदाताका गुनासो, दुःख र समस्या बुझिरहनुभएको छ ।
सोही सन्दर्भमा झापा क्षेत्र नम्बर ३ अन्तर्गत कचनकवल गाउँपालिका–१ मा युवा उम्मेदवार घिमिरेले घरदैलो अभियानलाई तीव्रता दिनुभएको छ । स्थानीय बस्तीहरूमा आयोजित अभियानका क्रममा उहाँले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका नीति, कार्यक्रम र आगामी योजनाबारे समेत जानकारी गराउनुभयो ।
घरदैलो अभियानमा स्थानीय अगुवा नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । अभियानका क्रममा उम्मेदवार घिमिरेले कृषक, मजदुर, युवा, महिला तथा सुकुम्बासी समुदायका समस्या सुन्ने र समाधानका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।
उहाँले देशमा व्याप्त बेरोजगारी, महँगी, भ्रष्टाचार र असमानताका विरुद्ध सशक्त रूपमा आवाज उठाउने बताउँदै जनताको पक्षमा निडर भएर काम गर्ने राखेर काम गर्ने धारणा राख्नुभयो ।
स्थानीय बासिन्दाहरूले पनि घरदैलो अभियानलाई सकारात्मक रूपमा लिँदै विकास र परिवर्तनका लागि स्पष्ट योजना आवश्यक रहेको बताएका थिए । उम्मेदवार घिमिरेको सरल, व्यवहार र प्रत्यक्ष सम्वादले मतदातामा उत्साह थपिएको स्थानीयबासीको भनाइ छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


