
झापा, १८ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरु हुँदैछ। आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ।
मौन अवधि सुरु भएपछि कसैको पक्ष वा विपक्षमा चुनाव प्रचार प्रसार गर्न वा भोट माग्न पाइँने छैन। रातिदेखि मौन अवधि सुरु हुने भएकाले राजनीतिक दल र उम्मेदवारले आज मतदाता रिझाउन अन्तिम कसरत गर्दैछन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायत विभिन्न दलका नेताले आइतबारै भिडिओ सन्देश जारी गर्दै आफ्ना उम्मेदवार र दलको पक्षमा मत मागेका छन्।
निर्वाचन आयोगका अनुसार मौन अवधि आज मध्यराति १२ बजेदेखि सुरु भएभएर मतदानको नसकिएसम्म लागु हुन्छ। निर्वाचनसम्बन्धी कानुनमा मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघिबाट मौन अवधि सुरु हुने व्यवस्था छ।
मौन अवधिमा के गर्ने के नगर्ने ?
१. निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने।
२. मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने ।
३. एसएमएस, फेसवुक, भाईवर जस्ता बिद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।
४. उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अंकित पहिरन, टोपी, स्टीकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने ।
५. उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

