
बिर्तामोड, १८ फागुन । प्रतिनिधि सभाका निवर्तमान सभामुख एवम् झापा क्षेत्र नं. २ का नेकपा (एमाले) तर्फका उम्मेदवार देवराज घिमिरेले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचन देशको भविष्य र समृद्धिको संकल्प गर्ने अवसरको रुपमा रहेको बताउनुभएको छ ।
झापाको बिर्तामोडमा आज प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा उम्मेदवार घिमिरेले त्यस्तो बताउनुभएको हो । देश जटिल परिस्थितिमा रहेको बताउनुहुँदै उहाँले राष्ट्रियताको पहरेदार बनेर उभिएको एमालेको दरिलो अडानलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताउनुभयो ।

“म आम मतदाताहरूलाई विनम्र अपिल गर्दछु, यो केवल एउटा चिन्हमा छाप लगाउने कुरा मात्र होइन”, उहाँले भन्नुभयो, “यो देशको भविष्य र समृद्धिको संकल्प गर्ने अवसर हो, त्यसैले मतदानको दिन हातमा स्वस्तिक छाप लिँदै गर्दा आफ्नो मन र मस्तिष्कमा एक स्वाभिमानी, सार्वभौमसत्ता सम्पन्न र समृद्ध नेपालको तस्विर स्मरण गरी देशको भविष्य सुरक्षित गर्न अनुरोध गर्दछु ।”
निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योलका बीच मतदान गर्ने समय नजिकिँदै गएको बताउनुहुँदै उहाँले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो ।
“वर्तमान विश्व राजनीतिमा शक्ति राष्ट्रहरूले नियोजित रूपमा हस्तक्षेप गरी विभिन्न देशको सत्ता समीकरण बदल्ने खेल खेलिरहेका छन्”, उहाँले भन्नुभयो, “नेपाल पनि यस्तो बाह्य र आन्तरिक हस्तक्षेपबाट अछुतो छैन । देशलाई कमजोर बनाउने र हाम्रो सार्वभौमसत्तामाथि प्रहार गर्ने कोसिसहरू भइरहेका छन् ।”
एमाले नेतृत्वको तत्कालीन सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा गर्न स्पष्ट मार्गचित्र र दृढ इच्छाशक्तिको खाँचो रहेको बताउनुहुँदै उहाँले त्यो मार्गचित्र एमालेसँग मात्र रहेको दाबी गर्नुभयो ।
एमाले नेतृत्वका सरकारले ‘आफ्नो गाउँ आफैँ बनाऔं’ र ‘जेष्ठ नागरिक भत्ता’ जस्ता सामाजिक सुरक्षाका जगदेखि बाटो, बत्ती, रेल र सुरुङमार्ग हुँदै देशलाई डिजिटल युगमा प्रवेश गराउनेसम्मका दीर्घकालीन महत्वका कार्यक्रमहरू गरेका उम्मेदवार घिमिरेको भनाइ छ ।
निर्वाचनका प्रचार–प्रसारको शिलशिलामा झापा क्षेत्र नं. २ अन्तरगतका २५ वटै वडाका बस्तीहरुमा पुगेको सुनाउनुहुँदै उहाँले एमाले प्रतिको अगाध माया स्नेह जनताहरुमा अझै पनि उत्तिकै रहेको अनुभव सुनाउनुभयो ।
“पाँच दशक लामो मेरो राजनीतिक जीवनमा मैले कहिल्यै पनि व्यक्तिगत लाभ र स्वार्थलाई प्राथमिकतामा राखिनँ”, उहाँले भन्नुभयो, “मेरो आफ्नै घर होस्, गाडी होस् भन्ने कहिल्यै लागेन सदैव देश जनता र मेरो क्षेत्रको सर्वपक्षीय विकास मात्र मेरो दिमागमा आइ रह्यो ।”
राष्ट्रिय सभाको सदस्य हुँदा पनि पूर्ण कार्यकाल काम गर्न नपाएको र हाल प्रतिनिधि सभाको सदस्य र सभामुख हुँदा पनि पूर्ण कार्यकाल काम गर्न नपाएकाले अधुरा कामहरु पूरा गर्न पुनः निर्वाचनमा होमिएको उहाँको भनाइ छ ।
“कुनै व्यक्तिगत लाभका लागि नभई मैले २०७९ सालका निर्वाचनताका गरेका संकल्पहरु पूरा गर्न चाहन्छु”, उहाँले भन्नुभयो, “मैले ३ वर्षको अवधिमा साढे पाँच अर्ब बजेट यो क्षेत्रमा भित्र्याएर केही त सुरुवात गरेकै थिएँ तर यति ठूलो क्षेत्रमा त्यति बजेट पर्याप्त होइन ।”
शिक्षा ऐन, निजामती ऐन, भूमि सम्बन्धी ऐन लगायत अन्य धेरै कानूनहरु निर्माणको अन्तिम चरणमा पुगेर अलपत्र रहेकाले ती ऐनहरुलाई पूरा गर्न संसद् प्रवेश गर्नै पर्ने भएकाले मतदातालाई उहाँले मतदान गर्न अपिल गर्नुभयो ।
“यो क्षेत्रको कम्तिमा ९० प्रतिशत सडक पक्की बनाउनु छ, बिर्तामोड बजारको ढल व्यवस्थापन गरी स्वच्छ र सफा सहर बनाउनु छ”, उहाँले भन्नुभयो, “प्रविधियुक्त कृषि विकास गरी थोरै जनसहभागितामा ठूला–ठूला खेती गर्न सकिने बनाउनुछ ।”
मल, बिऊ सिञ्चाइ तथा बजारको सहज रुपमा पहुँच वृद्धि गरी युवाहरुलाई कृषिमा आकर्षित गर्ने, यहाँको सुपारी व्यवस्थित र आम्दानीको मुख्य स्रोत बनाउने, यहाँको दुध विश्व बजारमा पु¥याउने लगायतका कार्य गरी धेरैभन्दा धेरै युवालाई रोजगार बनाउन लागि पर्ने उहाँको भनाइ छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

