
झापा, २१ फागुन । आज फागुन २१ गते बिहीबार मुलुकभर एकै चरणमा प्रतिनिधिसभा सदस्यका लागि मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म ७७ वटै जिल्लामा मतदान हुनेछ। संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि यो तेस्रो प्रतिनिधिसभा निर्वाचन हो।
यस निर्वाचनमार्फत प्रत्यक्ष प्रणालीतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्य निर्वाचित हुनेछन्। आयोगका अनुसार एक करोड ८९ लाखभन्दा बढी मतदाता (९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य) मतदानमा सहभागी हुनेछन्। उनीहरूका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र र १४३ अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ।
प्रत्यक्षतर्फ ६५ दलका ३,४०६ उम्मेदवार (३,०१७ पुरुष, ३८८ महिला, १ अन्य) प्रतिस्पर्धामा छन् भने समानुपातिकतर्फ ३,१३५ उम्मेदवार (१,३६३ पुरुष, १,७७२ महिला) चुनावी मैदानमा छन्।
मतदाता परिचयपत्र नभएकाले मतदानबाट वञ्चित नहुने व्यवस्था गरिएको छ। नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल देखाएर पनि मतदान गर्न सकिनेछ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई प्राथमिकता दिइनेछ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन ७९ हजारभन्दा बढी नेपाली सेना, ७५ हजार नेपाल प्रहरी, ३४ हजार सशस्त्र प्रहरी, १,९०० भन्दा बढी अनुसन्धान अधिकारी तथा करिब डेढ लाख म्यादी प्रहरी परिचालन गरिएको छ। निर्वाचन गराउन दुई लाख १५ हजार कर्मचारी खटिएका छन्।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


