
झापा, २१ फागुन । आज बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन बिहान १२ बजेदेखि साँझ ५ बजेसम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। निर्वाचन आयोगको सिफारिसमा सरकारले मतदान कार्य सुरक्षित र मर्यादित बनाउन यस्तो व्यवस्था गरेको हो।
एम्बुलेन्स, दमकल, शववाहन, रगत सञ्चार, खानेपानी तथा विद्युत् मर्मतका सवारीसाधन, कूटनीतिक नियोगका निलो प्लेट भएका सवारीसाधन र आयोग वा जिल्ला प्रशासन कार्यालयबाट पास प्राप्त सवारी मात्र सञ्चालन गर्न पाइनेछ।
हवाई यात्रुका लागि भने विशेष सुविधा दिइएको छ। आन्तरिक वा अन्तर्राष्ट्रिय उडानका टिकट भएका यात्रुहरूले विमानस्थलसम्म जान वा फर्किन निजी वा एयरलाइन्सले उपलब्ध गराएको सवारी प्रयोग गर्न सक्नेछन्।
यसअघि आयोगले निर्वाचनलाई स्वच्छ राख्न मतदानको सात दिन अगाडिदेखि अन्तिम परिणाम नआएसम्म देशभर मादक पदार्थको बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाइसकेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


