
झापा, २१ फागुन । झापामा करिब ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय झापाले जिल्लाभर ६५ प्रतिशत मत खसेको जनाएको छ । झापा ५ मा भने सबैभन्दा धेरै ७० प्रतिशत मत खसेको अनुमान गरिएको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए ।
यो निर्वाचन क्षेत्रमा प्रधानमन्त्रीका दुई फेस एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहसहित २४ जना चुनावी मैदानमा छन् । झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह प्रतिस्पर्धामा रहेकाले यो क्षेत्र इलेक्सन इपिसेन्टर बनेको छ ।
पाँचवटा निर्वाचन क्षेत्रका लागि ९० जना उम्मेदवार जनमत परीक्षणका लागि चुनावी मैदानमा छन् । यहाँ तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ अन्य गरी सात लाख १३ हजार ५३७ मतदाता थिए । झापामा शान्तिपूर्ण मतदान सम्पन्न पछि अहिले मुचुल्का उठाउने र मतपेटिका सिलबन्दी गर्ने काम भइरहेको निर्वाचन कार्यालय झापाका प्रमुख नेपालले जानकारी दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


