
झापा, २४ फागुन । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाद्वारा ठुलो परिमाणमा अवैध भारतीय मदिरा सहित दुई जना व्यक्तिलाई पक्राउ गरिएको छ।
फागुन २३ गते बुद्धशान्ति गाउँपालिका–७ वर्ने डाँडा इलाकामा सुरक्षा बेस टिमाईबाट खटिएको टोलीले बा.१५ च.१२९८ नम्बरको महेन्द्रा स्कार्पिओ गाडी चेकजाँच गर्ने क्रममा ३६ कार्टुन विभिन्न ब्राण्डका भारतीय मदिरा बरामद गरेको हो । बरामद मदिराको मूल्य रु १,७८,९५५ बराबर रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये सवारी चालक भोजपुर टेम्केमैयुङ गाउँपालिका–२ का ५२ वर्षीय गणेश कुमार राई र सामान धनी पाँचथर हिलिहाङ गाउँपालिका–२ का ४० वर्षीय शंकर प्रसाद प्रसाई रहेका छन् ।
बरामद मदिरा तथा सवारी साधन सहित कुल मूल्य रु २९,७८,९५५ कायम गरी आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा झापामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक रोहितबहादुर घिमिरेले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


