
झापा, २४ फागुन । ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर प्रभावकारी नेतृत्व तथा व्यक्तित्व विकास विषयक तालिम बिर्तामोडमा सम्पन्न भएको छ ।
महिलाहरूको नेतृत्व क्षमता अभिवृद्धि, व्यक्तित्व विकास तथा सामाजिक सहभागिता बढाउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो । वीरता जेसीजका अध्यक्ष जेसी लोक चन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगर प्रमुख पबित्रा महतारा प्रसाईं प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा नारी सञ्चार गृह झापा अध्यक्ष जेसी स्वस्तिका आचार्यले सहजीकरण गर्नुभएको थियो । तालिमका क्रममा आचार्यले प्रभावकारी नेतृत्व, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, सकारात्मक सोच तथा प्रभावकारी सञ्चार सीप सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा २५ भन्दा बढी महिलाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले तालिमले आफूहरूलाई नेतृत्व विकास र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुगेको बताएका छन् ।
कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर घनश्याम चौधरी, बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर विशाल थापा, नेको इन्स्योरेन्स बिर्तामोड शाखा प्रबन्धक सुमन पोद्दार तथा झापा गोल्ड कप सदस्य सुशील थापाको आतिथ्यता रहेको थियो।
कार्यक्रमका अध्यक्ष जेसी लोक चन्द्र श्रेष्ठले यस्ता तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरूले महिलालाई सशक्त बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। आयोजकका अनुसार उक्त तालिमले सहभागी महिलाहरूमा नेतृत्व क्षमता र आत्मविश्वास अभिवृद्धि गर्न प्रेरणा प्रदान गरेको छ।
कार्यक्रमका संयोजक जुनियर जेसी लुना ओली को स्वागत मन्तव्य को साथै आस्थावाचन कोषाध्यक्ष जेसी अमरजित शाहले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सुबास तिखत्रीले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


