
इलाम, २७ फागुन । गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाममा १८ जना उम्मेदवारको जमानत जफत भएको छ।
अन्तिम मत परिणाम अनुसार क्षेत्र न.१ मा ८ जना र क्षेत्र न.२ मा १० जना उम्मेदवारको को जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

इलाम १ मा १३ र इलाम २ मा १४ उम्मेदवार चुनावी मैदानमा थिए । इलाममा २६ वटा दल र १ जना स्वतन्त्र उम्मेदवार थिए । खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका उम्मेदवारहरूको जमानत जफत भएको हो ।
निर्वाचन आयोगका अनुसार इलाम क्षेत्र न.१ मा ६३ हजार ९५७ मत खसेकोमा ५९ हजार ३९१ सदर भएको छ । यसको १० प्रतिशत अर्थात् पाँच हजार ९३९ मत नल्याउने आठ जना उम्मेदवारको जमानत जफत भएको हो ।
जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्वाला नेपाल, नेपाल मजदुर किसान पार्टीका तुलसी केशरी प्रजापति, मङ्गोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचे, नेपाल जनमुक्ति पार्टीका डम्बरसिंह लिम्बू, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रामप्रसाद लिम्बू, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नारदमणी साङपाङ, उज्यालो नेपाल पार्टीका हरिबहादुर गुरुङ र जनता समाजवादी पार्टीका लिलाबहादुर सुनुवार रहेका छन् ।
इलाम १ क्षेत्रबाट निर्वाचित नेपाली काँग्रेसका निश्कल राईले १४ हजार ५४३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोदकुमार नेम्बाङ लिम्बूले १३ हजार ६३२ मत प्राप्त गर्नुभयो ।
क्षेत्र न.२ मा ६७ हजार ६६४ मत खसेकोमा ६३ हजार ७८१ सदर भएको छ । खसेको मतको १० प्रतिशत अर्थात् छ हजार ३७८ मत नल्याउने न १० जनाको जमानत जफत भएको छ ।
जमानत जफत हुनेमा नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, मङ्गोल नेशनल अर्गनाइजेशनका श्याबहादुर लिम्बू, नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बू, राष्ट्रिय परिवर्तन पार्टीका दिवस राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सादरसिंह लिङदेन (लिम्बू), राष्ट्रिय जनमुक्ति पार्टीका पवित्रा लिम्बू तुम्बाहाम्फे, जनता समाजवादी पार्टीका बलबहादुर आङदेम्बे, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का होमप्रसाद खतिवडा र स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम रहनुभएको छ । इलाम २ क्षेत्रबाट निर्वाचित हुनु भएका एमालेका सुहाङ नेम्बाङले २२ हजार ४२६ मत पाउँदा निकटतम प्रतिस्पर्धी काँग्रेसका आचार्यले १४ हजार ६५० मत प्राप्त गर्नु भएको थियोे ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ’ भन्ने उल्लेख गरिएको छ । तर निर्वाचित उम्मेदवारहरूको हकमा भने व्यवस्था लागू नहुने ऐनमा उल्लेख छ ।

