
झापा, २९ फागुन । राष्ट्रिय अग्रगामी गठबन्धनले नेपाली जनताले स्थिर सरकारको लागि दिएको जनमतलाई सम्मान गर्दै सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ। गठबन्धनले जारी गरेको विज्ञप्तिमा जनताले लामो संघर्ष र बलिदानीबाट प्राप्त गरेका राजनीतिक अधिकारहरूलाई कटौती गर्ने प्रतिगामी प्रयास भए सडकबाटै सशक्त प्रतिरोध गर्ने जनाएको छ ।
गठबन्धनले रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई सडकबाटै खबरदारी गर्ने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “नेपालको भूराजनीतिसँग जोडिएर कुनै शक्ति राष्ट्रले आफ्नो स्वार्थ सिद्ध गर्न हाम्रो सार्वभौमिकता, स्वाधिनता र स्वाभिमानमा आँच आउने दलाली यो सरकारले गरे हामी घोर भण्डाफोर गर्नेछौं ।”
पहिचानवादी दलहरूले विगतमा एकजुट नहुँदा जनताबाट चुनावमा सजाय पाएको तीतो यथार्थलाई आत्मसात् गर्दै अब राजनीतिक हिसाबले गोलबद्ध र एकजुट हुने घोषणा गरेका छन् ।
गठबन्धनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त मुलुक भएको उल्लेख गर्दै विविधता बीच एकता कायम राख्दै सबै प्रकारका विभेद र उत्पीडन अन्त्यका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


