
झापा, २९ फागुन । हिजो राति आएको वर्षासहितको हावाहुरीका कारण झापामा तीनजनाको मृत्यु भएको छ भने करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार वर्षासहित आएको हावाहुरीले रुख ढाल्दा रुखले किचेर झापाको हल्दिबारीमा एक युवतीको मृत्यु भएको छ । गएराति ९ बजे वर्षासहित आएको हावाहुरीले गर्दा रुख ढलेर हल्दिबारी २ पाराखोपी बस्ने प्रेमलाल राजवंशीकी छोरी १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो । घरमा सुतिरहेको अवस्थामा घरनजिक रहेको आँपको रूख ढलेर किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, हावाहुरीसँगै भएको वर्षाबाट खेतमा जमेको पानीमा डुबेर एकजनाको मृत्यु भएको छ । गएराति हल्दिबारी –२ बस्ने ३७ वर्षीय सुनिलराम सोरेनको घरदेखि करिब ५ सय मिटर पूर्व खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको हो । मादक पदार्थ सेवन गरी राजमिस्त्री काम गरेर घर फर्किने क्रममा उनी पानी जमेको खेतमा लडेका थिए । आज बिहान स्थानीयले मृत फेला पारी प्रहरी चौकी हल्दिबारीमा जानकारी गराएका थिए ।
त्यस्तै गएराति १०ः३० बजे अर्जुनधारा–४ रातेखालस्थित सयपत्री क्रसरछेउमा रहेको पैनीमा डुबेर एकजनाको मृत्यु भएको छ । सोही ठाउँ बस्ने ५० वर्षीय कृष्ण कटुवाल पैनीको पानीमा घोप्टो परी मृत अवस्थामा फेला परेका थिए । उनी छारे रोगको बिरामी भएको बुझिएको छ ।
वर्षासँगै आएको तीव्र गतिको हावाहुरीले जिल्लाका विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको छ । हावाहुरीले कयौँ कच्ची र टिनको छानो भएका घरहरू भत्काइदिएको छ भने बाटोमा रुख र बिजुलीका खम्बाहरू ढल्दा धेरै स्थानमा रातिदेखि नै विद्युत् अवरुद्ध भएको जनाइएको छ । हावाहुरीले मकैलगायतका बालीनालीमा पनि ठूलो नोक्सानी पुर्याएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


