
झापा, ३० फागुन । मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित फार्मेसी सञ्चालिका र गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फागुन २९ गते सुनसरीको गढी गाउँपालिका–२ औरावनी चोकस्थितबाट मोरङको सुन्दरहरैचा नगरपालिका–८ घर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएकी ३२ वर्षीया मोनिका चौधरीले सटर भाडामा लिई सञ्चालन गर्दै आएको शिवमहिमा मेडिकल हल फार्मेसीमा प्रतिबन्धित लागुऔषध बिक्री वतरण गरिरहेको छ भन्ने विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह पीआइटी र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त फार्मेसीमा लुकाई छिपाई राखेको अवस्थामा ट्रामाडोल र स्पास्पेन गरी जम्मा २ हजार ९ सय ३० ट्याब्लेट फेला पारी चौधरीलाई नियन्त्रणमा लिएको हो ।
त्यस्तै, मोरङको विराटनगर–३ बरगाछी चोकबाट भारत अररियाका पृथ्वीकुमार सिंह, कृष्णकुमार सिंहलाई ११ किलो ५२ ग्राम गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।


