
बिर्तामोड, १५ साउन । नेपाली कांग्रेस झापाले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबै पक्षलाई संयमता अपनाउन तथा सकारात्मक भूमिका खेल्न हार्दिक अपिल गरेको छ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत सुनसरीको देवानगञ्ज गाउँपालिका–स्थित कप्तानगञ्जमा धार्मिक विषयलाई लिएर भएको द्वन्द्व तथा त्यसपछिका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
विज्ञप्तिअनुसार सुनसरीको कप्तानगञ्जसँगै सिराहाको गोलबजार, सप्तरीको बोदेबरसाइन र राजविराज तथा धनुषाका केही स्थानमा भएका प्रदर्शनका क्रममा जनधनको क्षति भएको घटनाप्रति कांग्रेस झापाले दुःख व्यक्त गरेको छ। साथै, क्षतिको यथार्थ विवरण संकलन गरी पीडित परिवारलाई राहत उपलब्ध गराउन र शान्ति–सुरक्षा कायम गर्न सरकारसँग माग गरिएको छ।
प्रदर्शनका क्रममा मृत्यु भएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कांग्रेस झापाले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
विज्ञप्तिमा नेपाल बहुभाषी, बहुजातीय र बहुसांस्कृतिक विविधताबीचको एकताले धार्मिक, सामाजिक र राष्ट्रिय सद्भाव कायम राख्दै आएको उल्लेख गर्दै यसलाई अक्षुण्ण राख्नु सम्पूर्ण नेपालीको साझा दायित्व भएको बताइएको छ।
कांग्रेस झापाले धार्मिक समूह, सामाजिक संघसंस्था, राजनीतिक दल, पत्रकार, नागरिक समाज, बौद्धिक वर्ग, उद्योगी–व्यवसायी, मजदुर, किसान, युवा, विद्यार्थी, मानवअधिकारकर्मी तथा सबै सरोकारवालालाई शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न प्रभावकारी भूमिका खेल्न आग्रह गरेको छ।
त्यसैगरी, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायलाई संवेदनशील क्षेत्रको अवस्थाको अध्ययन गरी संयमता अपनाउन, धार्मिक तथा सामाजिक सहिष्णुता कायम राख्न र शान्ति–सुरक्षा सुदृढ बनाउन कांग्रेस झापाले जोडदार माग गरेको छ।
विज्ञप्तिको अन्त्यमा सबै राजनीतिक दल तथा तिनका भ्रातृ एवं शुभेच्छुक संगठनबीच समन्वय र सहकार्य गर्दै राष्ट्रिय हित, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा लोकतान्त्रिक मूल्य–मान्यताविपरीतका गतिविधि नगर्न र नगराउन सबै पक्षसँग आग्रह गरिएको छ।


