
बिर्तामोड, १ चैत । झापाको बिर्तामोडस्थित एभरेष्ट फ्रेस एण्ड फेसन मार्टले बिर्तामोड उद्योग वाणिज्य संघद्वारा स्थापित व्यवसायी सदस्य राहत कोषमा २१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
दोस्रो वार्षिकोत्सवको अवसरमा मार्टका सञ्चालक चान मोहमदले संघमा आयोजित कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई रकम हस्तान्तरण गर्नुभयो । संघले स्थापना गरेको राहत कोषमा हालसम्म २५ लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ भने कोषलाई एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ ।
सहयोग प्रदान गरेकोमा मार्टका सञ्चालक चान मोहमदलाई संघले कदरपत्र प्रदान गर्दै सम्मानसमेत गरेको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले बिर्तामोड उद्योग वाणिज्य संघअन्तर्गत स्थापना गरिएको राहत कोषले आम व्यवसायीलाई फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन् । विशेषगरी साना तथा मझौला व्यवसायीका लागि यो कोष फलदायी हुने उनको भनाइ छ ।
मार्टको दोस्रो वार्षिकोत्सवको उद्घाटन बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपानेले मार्ट परिसरमा राखिएको केक काटेर गरेका थिए ।


