
निशान निराैला
ईलाम, १५ चैत । इलामको रोङ गाउँपालिका–४ बागखोर स्थित मेची राजमार्गमा सुख्खा पहिरो झर्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
मिति २०८२ साल चैत १५ गते साँझ करिब १८:०४ बजेको समयमा सडक मर्मत भइरहेको स्थानभन्दा करिब ३०/४० मिटर माथिबाट ढुङ्गासहितको सुख्खा पहिरो झरेको हो। पहिरोका कारण इलामबाट झापा तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४३३४ नम्बरको गोलिया बोकेको ट्रक पुरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी किटेनी इलामबाट प्रहरी सहायक निरीक्षक याम चन्द्र कर्कीको कमाण्डमा प्रहरी टोली खटिएको थियो। टोली घटनास्थलमा पुगेर अवस्था बुझ्दा मानवीय क्षति नभएको पुष्टि भएको छ।
हाल मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ भने सडक खुलाउन आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


