
झापा, १८ चैत । झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट चैत १७ लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित नौ जनालाई पक्राउ गरिएको छ ।
झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–५ स्थितबाट प्र.१–०१–०१२ प ४७१५ नम्बरको स्कुटर चालक मेचीनगर नगरपालिका–१२ का सन्तोष लिम्बू पछाडि सवार ओम नरायण मण्डल र पुजन कुमार खनाललाई ५ ग्राम २७० मिलिग्राम ब्राउनसुगरसहित र मे ४ प ८२७४ नम्बरको मोटरसाइकल चालक भद्रपुर–९ का रेसल खड्का पछाडि सवार सन्दिप राजवंशी र प्रविण राईलाई ३ ग्राम ३६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीले दमक नगरपालिका–८ का छितिज तामाङलाई १ ग्राम २७० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी, इलाका प्रहरी कार्यालय रानीले सुनसरीको धरान उप–महानगरपालिका–११ का बिनायक सुवेदीलाई २४ एम्पुल प्रतिबन्धित औषधीसहित मोरङ–१५ स्थितबाट नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय भण्टाबारीले उदयपुर चौदण्डी–४ का पर्वत राईलाई ३० ट्यब्लेट प्रतिबन्धित औषधीसहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भइरहेको छ ।


