
अर्जुनधारा, २१ चैत । साहित्यकार कृष्ण धराबासीलाई दीर्घ साहित्य सेवा सम्मान प्रदान गरिएको छ ।
झापाको अर्जुनधारा नगरपालिकाको भाषा, कला, साहित्य तथा संस्कृति प्रवद्र्धन समितिले साहित्यकार धराबासीलाई उक्त सम्मान प्रदान गरेको हो । शुक्रबार नगरपालिकाको सभाहलमा आयोजित ‘साहित्य विमर्श तथा दीर्घ साहित्य सेवा सम्मान समारोह’मा साहित्यकार धराबासीलाई रू एक लाख एक हजारसहित दीर्घ सेवा सम्मान प्रदान गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ साहित्कार प्रकाश बुढाथोकी, नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली लगायतले सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।
नगरप्रमुख गोम्देनको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्य एवम् औचित्यमाथि उपप्रमुख खड्गमाया पराजुलीले प्रकाश पार्नुभएको थियो भने कार्यक्रममा स्वागत भाषा, कला, साहित्य तथा संस्कृति प्रवद्र्धन समितिकी संयोजक कञ्चना काफ्ले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नगरका कर्मचारी सौजन कटुवालले गर्नुभएको थियो ।
सोही कार्यक्रमका बीच साहित्य विमर्शसमेत गरिएको छ । विमर्श कार्यक्रममा साहित्यकार चन्द्र भण्डारी, सीमा आवास र दिपेन्द्र आचार्यले प्रमुख वक्ताका रुपमा रहनुभएको थियो भने विमर्शको सहजीकरण पत्रकार सन्तोष आचार्यले गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यकारहरुले कविता, गीत, गजल लगायत प्रस्तुतसमेत प्रदान गर्नुभएको थियो । नगरले प्रदान गर्दै आएको उक्त दीर्घ सेवा सम्मानबाट सरोजकुमार ओली, बिष्णुकुमार भट्टराई, कालीबहादुर थापा, हस्त परियार र कृष्ण बराल सम्मानित भइसक्नु भएको छ ।


